पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो।

युनिभर्सल टुर्स एण्ड ट्राभल (युटीटी) ले आउँदो असोज १२ गतेदेखि चार वटा चार्टर उडान गर्ने जनाएको छ । असोज १२, १६, २० र २४ गते उडान गर्नेगरी तालिकासमेत तय भइसकेको युनिभर्सल टुर्स एण्ड ट्राभल (युटीटी) ले जनाएको छ । भुटान एयरलायन्स एक सय २६ सिट क्षमताको हो । ट्राभल्सले चार्टर उडानका सहित ट्राभल्स प्याकेज समेत बनाएको छ।

यो प्याकेज चार रात र पाँच दिनको रहेको छ । पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बताउनुहुन्छ । यसको निरन्तरताका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने उहाँको भनाइ छ।

यसअघि गएको असार सात गते चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो । पोखराबाटै छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ । पछिल्लो पटक सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडानको पहल गरिरहेको छ । सिचुवानले एयरलाइन्सले छेन्दुहुँदै अस्ट्रेलिया उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिसकेको छ।

कूल तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको हो । वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमताको यो विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ। रासस





Comments

comments

132865