काठमाडौँ, सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू निष्क्रिय पार्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय भएको जानकारी दिए।
प्रवक्ता ठाकुरका अनुसार सर्वोच्च अदालतको निर्णय र पूर्ववर्ती सरकारको नीतिअनुसार मन्त्रालयले प्राधिकरणलाई दर्ता नभएका सामाजिक सञ्जालहरू निष्क्रिय बनाउन निर्देशन दिएको हो। उनले प्राधिकरणले प्राविधिक जाँच गरेर यस्ता सञ्जालहरू बन्द गर्ने प्रक्रिया अघि बढाउने बताए।यो निर्णयसँगै फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालहरू निष्क्रिय हुने सम्भावना छ।
सरकारको आग्रहअनुसार टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ भने मन्त्रालयमा सूचीकृत भइसकेका छन्। त्यस्तै, टेलिग्राम र ग्लोबल डायरीले पनि सूचीकरणका लागि आवेदन दिइसकेका छन्।
हालसम्म नेपालमा गुगल, जीमेल, युट्युब, फेसबुक, इन्स्टाग्राम, लिङ्क्डइन, ट्वीटर, थ्रेड्सजस्ता कुनै पनि संस्था आधिकारिक रूपमा दर्ता भएका छैनन्।
सरकारले पहिलो चरणमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम र लिङ्क्डइनजस्ता सामाजिक सञ्जालहरूलाई निष्क्रिय गर्ने रणनीति बनाएको छ।