न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १५ सेप्टेम्बर २०२५ — नेपालमा हालै भएको ‘जेन-जी’ पुस्ताको प्रदर्शनमा भएको दुखद मानवीय क्षतिप्रति हङकङमा रहेका प्रमुख नेपाली संघ-संस्थाहरूले आइतवार याउ मा तेई कम्युनिटी हलमा सामूहिक शोक सभा र श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्।
सेप्टेम्बर ८ र ९ मा भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध भएको प्रदर्शनमा ५५ युवाको ज्यान गएको र एक हजारभन्दा बढी घाइते भएको घटनाले हङकङको नेपाली समुदाय स्तब्ध भएको छ।
हङकङमा रहेका गैर-आवासीय नेपाली संघ, हङकङ नेपाली महासंघ, नेपाली आदिवासी जनजाति महासंघ, नेपाल चेम्बर अफ कमर्स र अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघले संयुक्त रूपमा यो कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा सहभागीहरूले ज्यान गुमाएका साहसी युवाहरूको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको थियो।
संयुक्त प्रेस विज्ञप्तिमा आयोजक संस्थाहरूले नेपालमा उत्पन्न असामान्य परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अन्तरिम सरकारको गठनलाई सकारात्मक कदमको रूपमा स्वागत गरेका छन्। उनीहरूले प्रदर्शनकारी युवाहरूको देशप्रतिको जागरूकता र उत्तरदायित्वबोधको प्रशंसा गर्दै सरकारले समयमै परिणाममुखी कदम चाल्नेमा विश्वास व्यक्त गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “हामी देशका सबै निकायहरूलाई संकटको यो घडीमा स्थायित्व कायम गर्न, संविधानको रक्षा गर्न र समग्र पुनर्निर्माणमा सहकार्य गर्न आग्रह गर्दछौं। हामी हङकङको नेपाली समुदायको तर्फबाट पूर्ण सहयोग र सहकार्यको प्रतिबद्धता जाहेर गर्दछौं।”
गैर-आवासीय नेपाली संघ हङकङका महासचिव इन्दा पुर्जा मगरद्वारा संचालित शोक सभामा हङकङमा रहेका नेपालीहरू सहभागी भएका थिए। कार्यक्रममा नेपालको वर्तमान अवस्थाको समीक्षा गर्दै देशमा शान्ति, स्थायित्व र सुशासनको लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। – पशन तमू । हङकङ