तीन मन्त्रीले लिए शपथ, अर्थमन्त्री खनाल पहिलो वरीयतामा

एचकेनेपाल डट कम –
काठमाडौं, ३० भदौ २०८२ – राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याललाई शपथ गराएका हुन्।

जेनजी आन्दोलनका क्रममा शीतल निवासमा भएको आगजनीले राष्ट्रपति कार्यालय बस्न नमिल्ने अवस्थामा पुगेको थियो। गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ सोही कारण राष्ट्रपति निवासभित्रै भएको थियो। तर, सोमबारको मन्त्रीहरूको शपथ समारोह भने खण्डहर कार्यालय बाहिर पाल टाँगेर व्यवस्थापन गरिएको थियो।

शपथपछि राष्ट्रपति कार्यालयले जारी गरेको पत्रमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ। यस्तै, दोस्रो वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र तेस्रो वरीयतामा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याललाई राखिएको छ। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री कार्कीको मातहतमा रहनेछन्।

आइतबार प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले यी तीनैजनालाई मन्त्रीमा नियुक्त गरेका थिए। शपथ ग्रहण लगत्तै तीनै मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयमा गएर पदभार ग्रहण गरेका छन्।





Comments

comments

133167