तुइनखोला पहिरो : यात्रुलाई निःशुल्क बस सेवा

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोलामा पहिरोमा फसेका यात्रुहरुलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहरुलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मङ्गलबारदेखि पहिरोले रोकिएका यात्रुहरूलाई बस सेवा सुरु गरिएको हो । प्रहरी स्कुल शान्तिपुरका दुई वटा बसले निःशुल्क सेवा दिइरहेको उनले जानकारी दिए।

तनहुँ तर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरूलाई लक्षित गरेर बस सेवा सञ्चालनमा ल्याइएको हो । उनले भने, ‘पहिरोका कारण हिँड्दै आएका यात्रुलाई भरतपुरसम्मका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका हौँ।’

पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको उनले जानकारी दिए।

पाँच किलोमा यात्रु जम्मा भएपछि प्रहरीले खबर गरेर बस पठाउने गरेको छ । सुरुको दिन पहिरो खसेको स्थानबाटै यात्रुहरू ल्याइएको भए पनि आजदेखि पाँच किलोबाट यात्रुलाई ल्याउन थालिएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरूले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनु परेको छ।

पहिरो समय समयमा खसेकाले पन्छाउन कठिन भएको हो । शुक्रबारसम्ममा पहिरो पन्छ्याइ सक्ने अनुमान गरिएको छ । गत शुक्रबार खसेको पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको भए पनि पुन मङ्गलवार पहिरो खसेर सडक अवरुद्ध भएको छ । आज पनि बिहानैदेखि पहिरो पन्छ्याउने काम भइरहेको छ। रासस





Comments

comments

133346