मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

मुस्ताङ । यसवर्ष मुस्ताङबाट करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडा च्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी-जोमसोम कोरला सडक मार्गबाट १४ हजार ६६८ भेडा च्याङ्ग्रा निकासी गरिएको हो।

केन्द्रका पशु चिकित्सक डा.लालमणि अर्यालका अनुसार यहाँबाट निकासी भएका भेडा च्याङ्ग्रा र रमा (च्यालु) को औसत अनुमान गर्दा रु ३५ करोड बढीको च्याङ्ग्रा निकासी भएको हो । यस वर्ष निकासी भएका भेडाच्याङ्ग्रामध्ये सात हजार ६६८ वटा स्थानीय र ६ हजार ८६८ वटा भेडा च्याङ्ग्रा डोल्पा, मुगु र जुम्लाका रहेका उनले बताए । यसमा मुस्ताङको हिस्सा अनुमानित रु २० करोड रहेको छ।

जिल्ला बाहिरका व्यापारीले किसानको खोरमै रोजेर लिने च्याङ्ग्राको मूल्य रु ३५ हजार, भेडाको रु २८ हजार र रमा (च्यालु) च्याङ्ग्राको मूल्य रु १२ हजार रहेको जनाइएको छ।

यहाँबाट जिल्ला बाहिर निकासी गरिएका भेडा च्याङ्ग्रा अझै बढी हुनसक्ने स्थानीय जानकारहरूको भनाइ छ । विज्ञ केन्द्रले पशु निरोगिताको परीक्षण गर्दा च्याङ्ग्रा धनीले यकिन सङ्ख्या नबताउने भएकाले यो सङ्ख्या बढी हुनसक्ने उनीहरूको तर्क छ। रासस





Comments

comments

133365