भक्तपुर, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले विभिन्न हल्ला फैलाएर धम्क्याउने प्रयास गरेको भन्दै यस्ता हल्लाबाजहरूलाई देश छोडेर विदेश नभाग्ने स्पष्ट पारेका छन्।
शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले पासपोर्ट रोक्ने जस्ता भ्रम फैलाएको आरोप लगाए।
अध्यक्ष ओलीले देशलाई संवैधानिक र लोकतान्त्रिक मूलधारमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सुशासन, शान्ति र सुव्यवस्था कायम गर्ने उद्घोष गरे। उनले सरकारका कर्तव्यप्रति प्रश्न उठाउँदै भने, “सरकारले सुरक्षा दिनुपर्छ कि पर्दैन? मुद्दा चलाउँछु, पासपोर्ट रोक्छु भनेर धाक लगाउनुको सट्टा सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।”
ओलीले देश सबै नेपाली मिलेर बनाउनुपर्ने बताउँदै ‘हाहाहुहुको सरकार’लाई देश जिम्मा लगाएर आफूहरू नभाग्ने र देश निर्माणमा निरन्तर लागिरहने दृढता व्यक्त गरे। उनले आफ्नो घरलाई लक्षित गरेर हमला गर्ने जस्ता हल्ला फैलाएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाए।
“हामी यो देशलाई फेरि सुशासन र लोकतान्त्रिक मार्गमा ल्याउँछौँ,” ओलीले भने, “हल्लाको पछि नलागी हामी देश बनाउन लागिपर्छौँ।”