कोलोराडोमा आयोजना हुने नेपाली राहदानी सेवा शिविरमा अनलाइन आवेदन फारम भर्ने तरिका

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। अमेरिकाको कोलोराडोमा आगामी अक्टोबर १०, ११ र १२ तारिखमा आयोजना हुन लागेको राहदानी सेवा शिविरमा सेवा लिन सेप्टेम्बर २५ तारिखदेखि अनलाइन आवेदन खुला गरिएको छ।

नेपाली कम्युनिटी सेन्टर नेपाली घरमा आयोजना हुने यो सेवा शिविरमा सेवा लिन चाहने महानुभावहरूका लागि वासिङ्टन, डीसीस्थित नेपाली दूतावासले सेप्टेम्बर २५ मा एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो।

हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनको संयोजन र नेपाली घरको अगुवाइमा आगामी अक्टोबर १०, ११ र १२ तारिखमा आयोजना हुने उक्त शिविर नेपाली घर (४००१ डब्ल्यू ७६औँ एभिन्यू, वेस्टमिन्स्टर) मा सञ्चालन हुनेछ। सेवा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुने बताइएको छ। सेवा शिविरमा राहदानी नवीकरण, एनआरएन कार्डको आवेदन सङ्कलन, र ट्राभल डकुमेन्टको सेवा उपलब्ध हुने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन्।

दूतावासले शिविरमा सहभागी हुन चाहने आवेदकहरूका लागि अनलाइन फारम भर्ने प्रक्रियाबारे विस्तृत जानकारी दिएको छ। जसमा सबैभन्दा पहिले आफ्नो कम्प्युटर वा मोबाइलको समय क्षेत्र (Time Zone) काठमाडौँ, नेपालमा सेट गर्नुपर्नेछ। त्यसपछि, राहदानी विभागको वेबसाइट https://emrtds.nepalpassport.gov.np/ मा गई “Apply for Passport” छनोट गर्नुपर्छ। राहदानी नवीकरणका लागि “Renewal/Replacement” छनोट गरी साधारण ३४ वा ६६ पृष्ठको विकल्पमा अगाडि बढ्नुपर्नेछ। Appointment Location मा “Other” छनोट गरी Appointment Country मा “Washington DC” चयन गर्नुपर्नेछ।

यो घुम्ती शिविरका लागि विशेष रूपमा उपलब्ध गराइएको अक्टोबर १०, ११ र १२, २०२५ को मिति छनोट गरी फारम भरेर अन्त्यमा बारकोडसहितको PDF फारम डाउनलोड गरी प्रिन्ट गर्नुपर्नेछ। आवेदकले आफ्नो पालोको मिति र समयबारे स्थानीय संयोजकबाट इमेल वा टेलिफोनमार्फत जानकारी प्राप्त गर्नेछन्।

आवेदकहरूले शिविरमा उपस्थित हुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सक्कल राहदानी, बारकोडसहितको प्रिन्ट गरिएको अनलाइन फारम, नाबालकको हकमा नाबालक परिचयपत्र वा जन्म दर्ता, बाबुआमाको नागरिकताको प्रतिलिपि र जिल्ला प्रशासन कार्यालयद्वारा जारी विवाह दर्ता प्रमाणपत्रलगायतका कागजातहरूको सक्कल र प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। राहदानी बनेर आएपछि आवेदकको ठेगानामा पठाउनका लागि आफ्नो पूरा नाम र ठेगाना लेखिएको पैसा तिरिसकेको फिर्ती खाम पनि साथमा लिएर आउनुपर्नेछ।

राहदानी नवीकरण शुल्क डेबिट वा क्रेडिट कार्डबाट मात्र भुक्तानी गर्न सकिनेछ। ३४ पृष्ठको नयाँ राहदानीका लागि १५० डलर, ६६ पृष्ठको लागि २०० डलर र १० वर्षमुनिका नाबालकका लागि ७५ डलर शुल्क तोकिएको छ।

यसैगरी, एनआरएन कार्डका लागि अमेरिकी नागरिकताको प्रमाणपत्र प्रतिलिपि, अमेरिकी राहदानीको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट आकारको फोटो आवश्यक पर्दछ। सबै कागजातका प्रतिलिपिहरू आवेदक आफैँले प्रमाणित गर्नुपर्नेछ। प्रतिलिपिको पछाडि “True Copy” लेखी आफ्नो हस्ताक्षर र मिति लेख्नुपर्दछ। प्रिन्ट गरिएको र हस्ताक्षर गरिएको अनलाइन आवेदन फारम (https://nrn.mofa.gov.np/#/dashboard) एकाउन्ट बनाउनुपर्छ। ट्र्याकिङ नम्बरसहितको, आफ्नो ठेगाना लेखिएको र टिकट टाँसिएको फिर्ता खाम साथमा लिएर आउनुपर्नेछ। एनआरएन कार्डका लागि क्यासियर चेक वा मनी अर्डर “The Embassy of Nepal, Washington, D.C.” को नाममा ५२० डलरको बनाउनुपर्नेछ।

थप जानकारीका लागि नेपाली घरका पदाधिकारीलगायत अन्य स्थानीय सङ्घसंस्थाका पदाधिकारीहरूसँग सम्पर्क गर्न सकिने बताइएको छ।

यसैबीच, नेपाली घर र हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनले छुट्टाछुट्टै अपील जारी गर्दै हाम्रो आफ्नै घरआँगनमा आउँदै गरेको घुम्ती सेवा शिविरलाई सफलतापूर्वक सम्पन्न गर्न सबै सङ्घसंस्थाका पदाधिकारी, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, पत्रकार तथा नेपाली बुवाआमा, दाजुभाइ, दिदीबहिनी सबैलाई आ-आफ्नो क्षेत्रबाट प्रचारप्रसार गरी आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ।





Comments

comments

133402