एचकेनेपाल डट कम –
काठमाडौँ, असोज १६, २०८२ – बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज विजयादशमीको अवसरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरुप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा–आराधना गरिएको प्रसाद आज मान्यजनबाट ग्रहण गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज बिहान ११:५३ बजे उत्तम साइत रहेको छ। समितिले जनाएअनुसार टीका लगाइमाग्ने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्कनु उपयुक्त हुन्छ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाउने प्रचलन छ।
आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइँदै छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्। समितिका अनुसार घटस्थापनाका दिन राखिएको जमरा र आह्वान गरिएका देवीलाई विसर्जन गर्न आज बिहान ९:२३ बजे उत्तम साइत रहेको छ।
आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनामा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ। जमराले विभिन्न रोग–व्याधमा औषधिको काम गर्ने तथ्य वैज्ञानिकरुपमा पुष्टि भएको छ। हाल नेपालका धेरै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवनले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेद चिकित्सकहरु बताउँछन्।
घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गर्दा वर्षभर शान्ति प्राप्त हुने विश्वास छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो। त्रेता युगमा भगवान् रामले आजकै दिन रावणमाथि विजय प्राप्त गरेको धार्मिक विश्वास छ। त्यसैले यो दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ।
आज गुरु, पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा र प्रसाद थापेर यश, ऐश्वर्य, कार्यक्षमता र दीर्घायुको आशीर्वाद लिने गरिन्छ।
विजयादशमीमा टीका लगाइदिँदा पुरुषका लागि निम्न मन्त्रले आशीर्वाद दिइन्छ:
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
अर्थ: द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु, दशरथको जस्तो श्री, रामको जस्तो शत्रु नाश, नहुषको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, भीष्मको जस्तो शौर्य, बलरामको जस्तो बल, कर्णको जस्तो दानशीलता, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति प्राप्त होस्।
महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न मन्त्रले आशीर्वाद दिइन्छ:
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।
अर्थ: जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा यी नाम भएकी देवीलाई नमस्कार छ।
यी मन्त्रहरुले आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न बाटोमा मानिसको भीड लाग्ने गर्छ। नेपालका केही भागमा आजमात्र टीका र जमरा लगाइन्छ भने अधिकांश स्थानमा कोजाग्रत पूर्णिमासम्म यो परम्परा चल्छ।