नेपाल संवत् ११४६ को अवसरमा नेवाः खलः कोलोराडोले दुई पुरस्कार प्रदान गर्ने निर्णय

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। नेपाल संवत् ११४६ को अवसरमा नेवाः खलः कोलोराडोले यस वर्षदेखि दुईवटा पुरस्कार वितरण गर्ने निर्णय गरेको छ।

संस्थाको हालै सम्पन्न कार्यसमितिको बैठकले नेपाल संवत्को अवसरमा प्रत्येक वर्ष शताब्दी पुरुष सत्यमोहन पुरस्कार र शंखधर साख्वा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

आगामी अक्टोबर २५ तारिख शनिबार नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजना हुने न्हूदँया भिन्तुना कार्यक्रममा उक्त पुरस्कार वितरण गरिने अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन्।

कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन सिरपा (पुरस्कार) अमेरिकाको कोलोराडोमा भाषा, साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण तथा विकासमा योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिनेछ। त्यसैगरी, कोलोराडो नेवाः खलः शंखधर साख्वा सिरपा (पुरस्कार) अमेरिकाको कोलोराडोका स्थानीय नेपाली संघ/संस्थामध्ये उत्कृष्ट एकलाई खलःको तर्फबाट सम्मान गरिनेछ।

संस्थाले नेपाल संवत् ११४६ भिन्तुना कार्यक्रम र साधारण सभा एकै दिन आयोजना गर्ने जनाएको छ। भिन्तुना कार्यक्रम व्यवस्थापनको जिम्मेवारी उपाध्यक्ष मनोज काजी तुलाधर, रोशन महर्जन, रमिता तुलाधर र सुरेश श्रेष्ठको समूहलाई दिइएको छ। त्यस्तै, साधारण सभा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी महासचिव सञ्जय शाक्य र सचिव नारायण प्रसाद दुवाललाई तोकिएको छ। साथै, भिन्तुना कार्यक्रममा इन्द्रजात्राका सहभागी कुमारी, गणेश, भैरव, लाखे, झ्यालिंचा, सांस्कृतिक कलाकारलगायत सम्पूर्ण स्वयंसेवकहरू तथा प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज प्रायोजकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ।





Comments

comments

133504