हङकङमा इन्डोनेसियाली डोमेस्टिक हेल्परमाथि चक्कु प्रहार गरेका आक्रमणकारीको भवनबाट खसेर मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ,७ अक्टोबर । सोमबार राति हङकङको सिङ यीस्थित चेङ फ्याट इस्टेटको लेङ फ्याट हाउसमा एक ४७ वर्षीया इन्डोनेसियाली घरेलु सहायकमाथि चक्कु प्रहार भएको छ।

राति ९ बजे फोहोर फाल्न गएकी ती सहायकमाथि एक पुरुषले धारिलो हतियारले आक्रमण गरेको प्रहरीले जनाएको छ। उनले कोठामा फर्केर ढोका बन्द गरी प्रहरीलाई खबर गरेकी थिइन्।

घटनास्थलमा प्रहरी पुग्दा ग्यासको गन्ध आएको थियो। त्यहाँ ३१ वर्षीय फोङ नामका पुरुष भवनको प्लेटफर्ममा बेहोस अवस्थामा फेला परेका थिए। उनी भवनको उचाइबाट खसेर ग्यास पाइपमा ठोक्किएका थिए। उनलाई प्रिन्सेस मार्गरेट अस्पतालमा मृत घोषणा गरिएको छ।

गम्भीर चोट लागेकी घरेलु सहायकलाई अस्पताल भर्ना गरिएको छ। प्रहरीले मृतकको छेउमा कटर फेला पारेको र दुवै छिमेकी भएको पुष्टि भएको छ। मृतकको मानसिक स्वास्थ्य समस्याको इतिहास रहेको र कुनै आत्महत्या नोट नभेटिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ।





Comments

comments

133531