नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। अमेरिकाको कोलोराडोमा अक्टोबर १० देखि आयोजित राहदानी सेवा शिविर भव्यताका साथ सम्पन्न भएको छ।
हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनको संयोजन, नेपाली घरको अगुवाइ र एनआरएन कोलोराडो च्याप्टर तथा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको सक्रिय सहभागितामा अक्टोबर १० देखि १२ तारिखसम्म आयोजित शिविरमा ५०५ जनाको राहदानी नवीकरण र २६ जनाको एनआरएन कार्डको फारम सङ्कलन भएको सेवा शिविरका टोली प्रमुख अरुणा घिसिङले बताएकी छन्।
नेपाली राजदूतावास वासिङ्टन डीसीबाट आएका कूटनीतिक कर्मचारीहरू अरुणा घिसिङ, सोना खडारी, यज्ञप्रसाद रेग्मी र टेक्सास कन्सुलर कार्यालयबाट आएकी हरिमाया अधिकारीसहित चार सदस्यीय टोलीको अथक प्रयासले सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको हो।
नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सञ्चालित सेवा शिविरमा एरिजोना, टेक्सास, नेब्रास्का, मिनेसोटा, युटा, ओहायो, केन्सास, न्यू मेक्सिको, भर्जिनिया र वायोमिङलगायतका राज्यहरूबाट सेवाग्राहीहरू कोलोराडो आएका थिए।
सेवा शिविरलाई व्यवस्थित रूपमा सञ्चालन गरी सेवाग्राहीहरूलाई सहयोग पुर्याउन कूटनीतिक कर्मचारीहरू, सङ्घ-संस्थाका पदाधिकारीसहित १०० भन्दा बढी स्वयंसेवकहरू अहोरात्र खटेर शिविरलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याएको नेपाली घरका निवर्तमान अध्यक्ष जगदीशचन्द्र ढकालले बताए।
समापन समारोहमा नेपाली घरका अध्यक्ष बसन्त लम्साल र हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै सबैको साथ र सहयोगले हाम्रो आफ्नै आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्रमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकेको भन्दै सबैलाई धन्यवाद दिए। त्यसैगरी, टोली प्रमुख अरुणा घिसिङले समारोहलाई सम्बोधन गर्दै नेपाली राजदूतावास र कोलोराडो नेपाली समुदायको पहलमा सञ्चालित सेवा शिविरलाई सफल बनाउन सबैको महत्वपूर्ण भूमिका रहेको र यहाँको कुशल व्यवस्थापनका कारण बिना कठिनाइ धेरै सेवाग्राहीहरूलाई सेवा पुर्याउन सकिएको भन्दै खुसीसाथ सबैलाई धन्यवाद दिइन्।
सेवा शिविरबाट सेवा लिन ४०० भन्दा बढी सेवाग्राहीले अग्रीम अनलाइन फारम भरी समय निर्धारण गरेका थिए भने कतिपयले कार्यक्रम स्थलमा आएर प्रक्रिया अगाडि बढाएका थिए। सेवा शिविरमा ९३ वर्षीया ज्येष्ठ नागरिक रत्नमाया खड्कासहित दुई दर्जनभन्दा बढी १० वर्षमुनिका बालबालिकाहरू लाभान्वित भएको नेपाली घरका वरिष्ठ उपाध्यक्ष गङ्गा चौलागाईंले बताए।
सेवा शिविर हरेक बिहान ८:३० बजेदेखि राति ८:३० बजेसम्म १२ घण्टा सञ्चालित थियो। कार्यक्रममा सहयोग गर्ने प्रायोजक र स्वयंसेवकहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।