नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। नेपाल संवत ११४६ को अवसरमा नेवाः खलः कोलोराडोले सिष्टर्स ग्रुप दिदीबहिनी समूह कोलोराडो र बरिष्ठ गायक, संगीतकार तथा समाजसेवी हिरण्य भोजपुरेलाई पुरस्कृत गरेको छ।
शनिबार संस्थाले नेपाल संवत ११४६ को अवसर पारेर कोलोराडो नेवाः खलः नेपाल संवत प्रवर्तक शंखधर साख्वाः नेपाल संवत ११४५ सिरपा (पुरस्कार) सिष्टर्स ग्रुप दिदीबहिनी समूह कोलोराडो र कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन नेपाल संवत ११४५ सिरपा (पुरस्कार) हिरण्य भोजपुरेलाई प्रदान गरिएको हो। नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको प्राङ्गणमा शंखधर साख्वाको तस्विर, प्लेकार्ड र धिमेबाजा सहितको र्यालीपछि आयोजित विशेष समारोहमा उनीहरूलाई भव्यताका साथ सम्मान गरिएको हो।
सगरमाथा आरोही रोहित श्रेष्ठको प्रमुख अतिथित्व तथा बोल्डर काउन्टी कमिश्नर मार्था लोचाअमिन (Marta Loachamin) को विशेष अतिथित्व रहेको कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रिय गान र प्रमुख अतिथि र विशेष अतिथिबाट संयुक्त रूपमा पानसमा बत्ती बाली सुरु गरिएको थियो।
खलःका अध्यक्ष भूषणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठले स्वागत मन्तव्यसहित उपस्थित सबैलाई न्हूदँया भिन्तुना (नयाँ वर्षको शुभकामना) व्यक्त गरेका थिए।
त्यसपछि पुरस्कार वितरण तथा कार्यक्रममा कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन सिरपा (पुरस्कार) अमेरिकाको कोलोराडोमा भाषा, साहित्य, कला, संगीत र संस्कृतिको जगेर्ना र विकासमा योगदान पुर्याएका हिरण्य भोजपुरेलाई र कोलोराडो नेवाः खलः नेपाल संवत प्रवर्तक शंखधर साख्वाः सिरपा (पुरस्कार) सिष्टर्स ग्रुप दिदीबहिनी समूहलाई, नेपालस्थित राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान र शताब्दी पुरुष सत्यमोहन सिरपा लोक साहित्य परिषद्सँग आवद्धता भए प्रदान गर्न गरेको थियो।
कार्यक्रममा संस्थाले आयोजना गरेको इन्द्रजात्रा लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। जसमा कुमारी, गणेश, भैरव, लाखे, झ्यालिँचा, स्वयंसेवक, कलाकार, प्रायोजक र आजीवन सदस्य लगायतहरूलाई प्रमुख अतिथि रोहित श्रेष्ठ, विशेष अतिथि मार्था लोचाअमिन, नारायण श्रेष्ठ, खलःका अध्यक्ष भूषणलाल श्रेष्ठ, प्रेमकाजी श्रेष्ठ लगायतबाट प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
पुरस्कार ग्रहणपछि मन्तव्यको क्रममा हिरण्य भोजपुरेले सबैलाई नयाँ वर्षको शुभकामना दिँदै प्रवासमा यस्तो भव्य समारोहमा शताब्दी पुरुष सत्यमोहन सिरपा (पुरस्कार) पाउँदा धेरै गौरवान्वित भएको बताएका थिए। त्यसैगरी सिष्टर्स ग्रुप दिदीबहिनी समूहका अध्यक्ष शान्ति भुशालले आफ्नो संस्थाप्रति उच्च मूल्यांकन गर्दै पुरस्कृत गरिएकोमा आयोजक संस्थालाई धन्यवाद दिएकी थिइन्।
नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने क्रममा कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिहरू तथा समाजसेवीहरूले शुभकामना मन्तव्य दिएका थिए। यसरी शुभकामना मन्तव्य दिनेहरूमा हेल्पिङ हेन्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, साहित्यकार तथा समाजसेवी डा. विजयराज शर्मा, नेपाली घरका उपाध्यक्ष गंगा चौलागाईं र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्मा, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष आकृति राई, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष चन्द्र गुरुङ लगायतका रहेका थिए। कार्यक्रममा कलाकार बहिनीहरूले कुशल नृत्य प्रदर्शन गरेका थिए।
सबिता श्रेष्ठले संचालन गरेको कार्यक्रमको अन्तमा खलःका उपाध्यक्ष मनोजकाजी तुलाधरले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।


