ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’

भोजपुर। यहाँको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’ ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो।

स्थानीय बासिन्दाले वर्षौँदेखि साक्षात् देवीका रूपमा यहाँ पूजाआजा गर्दै आएका छन् । विशेषतः गरी यहाँ साउन महिनाबाहेक वर्षभरि हरेक सोमबार पञ्च बलि पूजा हुने गरेको स्थानीय राजकुमार राईले बताए । “यो जिल्लाको प्रसिद्ध धार्मिकस्थल हो । देशका विभिन्न ठाउँबाट भक्तजन पञ्च बलि पूजा गर्न आउँछन्, तर यसको प्रचार–प्रसार हुन सकेको छैन । ओझेलमा छ”, उनले भने।

मन्दिरका पुजारी कुलबहादुर नाछिरिङ राईका अनुसार सरकारी जागिर पाउने, विदेश जाने वा कुनै ठूलो काम सफल होस् भन्ने भाकलका साथ धेरैले यहाँ पूजा गर्ने गरेका छन् । सोमबारको दिन यहाँ भक्तजनको भीड लाग्ने गरेको बताए।

जीर्ण अवस्थामा पुगेको मन्दिरलाई स्थानीयको सक्रियतामा संरक्षण गरिएको सत्यदेवी मन्दिर संरक्षण समितिले जनाएको छ । पुरातत्त्व विभागबाट रु सात लाख र प्रदेश सरकारबाट रु १० लाख विनियोजन भई मन्दिर संरक्षणसँगै धारा, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ।

भक्तजनको सुविधाका लागि स्थानीयले छवटा पाटीपौवा निर्माण गरेका छन् । धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण यस देवस्थल क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने स्थानीयको माग छ। रासस





Comments

comments

133929