विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौँ । गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबिच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ।

-

आइतबार यहाँ भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, मन्त्रालयअन्तर्गतका कानुन महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, डा दीपक खड्कासहितको टोली सहभागी भएको थियो।

बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदान प्रक्रिया र यसलाई सम्भव बनाउन आवश्यक संयन्त्र, कानुन र अन्य आवश्यकताबारे छलफल गरिएको जनाइएको छ।

विदेशमा रहेका नागरिकको मतदानका विषयमा विद्यमान कानुनी अवस्था, अन्य मुलुकको कार्यान्वयन अनुभव र चुनौतीहरूबारे प्रारम्भिक छलफलका लागि प्रतिष्ठानलाई आमन्त्रण गरिएको गृह मन्त्रालयले जनाएको छ।

बैठकमा ‘आउट अफ कन्ट्री भोटिङ’ का विषयमा नीति प्रतिष्ठानले अघि बढाएको अनुसन्धानको कार्य प्रगति र प्रयोग हुन सक्ने विधिहरू प्रस्तुत गरिएको थियो।

विदेशमा हुने मतदान प्रक्रिया, हुन सक्ने सुरक्षा चुनौती, आवश्यक जनशक्ति र यसका कार्यान्वयनका लागि निर्माण हुनुपर्ने राजनीतिक वातावरण आदि विषयबारे पनि चर्चा भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ। रासस





Comments

comments

133982