साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’

भोजपुर। मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरमा ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’ आयोजना हुने भएको छ।

-

मौलिक संस्कृति, स्थानीय परिकार र यहाँ पहिचानलाई देश–विदेशमा चिनाउने लक्ष्यले आगामी मङ्सिर २०–२२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । ग्रेट मुन्दुम ट्रेलभित्र पर्ने हतुवागढीको कोप्चेबाट तावाभञ्याङसम्म ६० किलोमिटर दूरीमा प्रतियोजना हुने जनाइएको छ।

भोजपुरका दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेका हुन् । भोजपुरको सबैभन्दा होचो स्थान (१५३ मिटर) माइबेनी कोप्चेबाट तावाभञ्याङसम्म प्रतियोगिता हुने मुन्दुम ट्रेल रेस सञ्चालन समितिका सचिव रविन थापाले जानकारी दिए।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको सहभागिता रहने जनाइएको छ । प्रतियोगितमा १०० जना धावक सहभागी गराउने लक्ष्य रहेको रिमाचुङ, एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिए।

हतुवागढी–९ माईबेनी कोप्चेबाट सुरु हुने रेस आमचोकको बयाङ–थामडाँडा हुँदै रामप्रसाद राई गाउँपालिकाको पामखाङ–भञ्याङ–कपासे–सेल्मे–पाँचधारे–तावाभञ्याङसम्म सञ्लालन हुने रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए।

प्रतियोगितालाई प्रभावकारी, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न तीनै गाउँपालिकाबीच विस्तृत कार्य योजना तयार गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनले सामुदायिक तथा साहसिक पर्यटन विकास गर्ने लक्ष्यसहित यो प्रतियोगिता आयोजना गरिएको बताए।

मुन्दुम पदमार्ग क्षेत्रमा रहेका पर्यटकीयस्थलको प्रवर्द्धन तथा विकासका लक्ष्यले तीन गाउँपालिकाहरुले बजेट विनियोजन गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि तीनै गाउँपालिकाले रु पाँच–पाँच लाखका दरले जम्मा रु १५ लाख बजेट विनियोजन गरेका छन्। रासस





Comments

comments

134136