न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ नोभेम्बर । हङकङमा एक ४२ वर्षीय पुरुष आफ्नी ११ वर्षीया छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। उनले आफूले पनि सोही विष सेवन गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार राति ९:१९ बजे डाइमन्ड हिलको फङ टाक इस्टेटमा बस्ने ती पुरुषले आत्महत्या गर्ने र छोरीलाई विष खुवाउने प्रयास गरेको भन्ने सूचना प्राप्त भएको थियो।
उनीहरूलाई उपचारका लागि क्वीन एलिजाबेथ अस्पताल लगिएको छ। घटनाको जानकारी छोरीका हजुरबुबाले प्रहरीलाई दिएका थिए। हजुरबुबा पनि सोही घरमा बस्दै आएका थिए।
प्रहरीले यो घटनालाई हत्या प्रयासको रूपमा वर्गीकरण गरी जिल्ला अपराध शाखाबाट अनुसन्धान भइरहेको जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ती पुरुषलाई पहिलेदेखि मानसिक रोगको इतिहास रहेको छ।
घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।


