काठमाडौँ — डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका चार जना छात्रालाई यस वर्षको ‘नइ कपिल विद्या पदक’ प्रदान गरिएको छ।
सर्वश्री सुमित्रा बूढा (डोल्पा), सौमती शाही (हुम्ला), प्रतीक्षा विष्ट (बाजुरा) र इशारा कोट्टारी (दार्चुला) लाई जनही ३३ हजार रुपियाँ नगदसहित यो सम्मान प्रदान गरिएको हो।
यी चारै छात्रा २०८२ सालको कक्षा १२ को परीक्षामा आफ्नो जिल्लाका सरकारी विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने छात्रा घोषित भएका थिए। पुरस्कार वितरण अनलाइन माध्यमबाट गरिएको थियो।
सर्वोत्कृष्ट छात्राहरू क्रमशः डोल्पाको आदर्श माध्यमिक विद्यालय, हुम्लाको मानसरोवर माध्यमिक विद्यालय, बाजुराको जनप्रकाश माध्यमिक विद्यालय र दार्चुलाको लटीनाथ माध्यमिक विद्यालयका विद्यार्थी हुन्।
नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार नइ एकेडेमीले सुप्रसिद्ध मनोचिकित्सक डा. कपिलदेव उपाध्यायको सम्मानमा २०७९ सालदेखि हरेक वर्ष डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सरकारी विद्यालयबाट कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याउने एक–एक जना छात्रालाई यो पदक प्रदान गर्दै आएको छ।


