न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १० डिसेम्बर । हङकङको ताइपो क्षेत्रस्थित वाङ फुक कोर्टमा गत नोभेम्बर २६ मा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १६० पुगेको छ। डीएनए परीक्षणका क्रममा यसअघि एक मानिएको शव दुई व्यक्तिको भएको पुष्टि भएपछि मृतक संख्या बढेको हो।
पुलिस आयुक्त जो चाउले मङ्गलबार पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “एउटै ठाउँबाट प्राप्त शवका विभिन्न भागको डीएनए परीक्षण गर्दा ती एक वृद्ध महिला र उनकी घरेलु सहयोगीको भएको पुष्टि भएको छ।”
खोजीका क्रममा स्क्याफोल्डिङ हटाएपछि भुइँमा भेटिएका केही हड्डीहरू मानवका हुन् वा होइनन् भन्ने परीक्षण भइरहेको पनि उनले बताए।
आगलागी भएको दुई साता बितिसक्दा पनि ६ जना अझै बेपत्ता छन्। यसअघि बेपत्ता सूचीमा रहेका ३१ जनामध्ये ९ जनाको आगलागीमै मृत्यु भएको, ४ जना आगलागीअघि नै मृत अवस्थामा भेटिएको र १२ जना सुरक्षित रहेको पाइएको छ।
हालसम्म १२० जनाको शवको पहिचान भइसकेको छ भने बाँकी ४० जनाको डीएनए परीक्षण जारी छ। मृतकका आफन्त १६२ जनाबाट डीएनए नमूना लिइएको र एक साताभित्र सबै नतिजा सार्वजनिक गरिने पुलिसले जनाएको छ।
आगलागीमा घाइते ७९ जनामध्ये ५५ जना डिस्चार्ज भइसकेका छन् भने २४ जना अस्पतालमा उपचाररत छन्।
हङकङको इतिहासमै सबैभन्दा ठूलो मानवीय क्षति भएको यो आगलागीको कारणबारे अनुसन्धान जारी छ। आगलागी तीव्र रूपमा फैलिनुमा निर्माण कम्पनीको लापरबाही भएको आशंकामा केही अधिकारी पक्राउ परिसकेका छन्।
स्टाइरोफोम र जालीले आगो चाँडै फैलियो
प्रारम्भिक अनुसन्धानअनुसार लिफ्टको झ्यालहरू वरिपरि अत्यधिक ज्वलनशील स्टाइरोफोम सामग्री प्रयोग गरिएको र बाहिरी भागमा प्रयोग भएको हरियो जाली तथा प्लास्टिक शिटले पनि आगो तीव्र गतिमा फैलाउन सहयोग पुर्याएको पाइएको छ। यी सामग्रीहरू अग्नि सुरक्षा मापदण्डविपरीत रहेको अधिकारीहरूको भनाइ छ।
ठेकेदारका दुई निर्देशक र एक सल्लाहकार पक्राउ
आगलागीको कारण पत्ता लगाउन आपराधिक अनुसन्धान सुरु गरिएको छ। ठेक्का लिएको कम्पनीका दुई निर्देशक र एक जना परामर्शदातालाई कर्तव्य हत्या (manslaughter) अभियोगमा पक्राउ गरिएको छ। ३३ करोड हङकङ डलर (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बजेटको मर्मत तथा जीर्णोद्धार कार्यमा भ्रष्टाचार भएको शङ्कामा स्वतन्त्र भ्रष्टाचार नियन्त्रण निकाय (ICAC) ले छानबिन थालेको छ। प्रहरीले सम्पत्ति व्यवस्थापन कम्पनीको कार्यालयमा समेत छापा मारेको छ।
१९९६ यताकै सबैभन्दा ठूलो आगलागी
यो आगलागी सन् १९९६ को गार्ले बिल्डिङ आगलागी (४१ जनाको मृत्यु) भन्दा पनि ठूलो भएको छ र यो हङकङको आधुनिक इतिहासकै सबैभन्दा घातक आगलागी बनेको छ।
हङकङका प्रमुख जोन ली का चिउले सबै सार्वजनिक आवास क्षेत्रमा ठूला मर्मत भइरहेका भवनहरूको तत्काल निरीक्षण गर्न आदेश दिएका छन्। आगामी डिसेम्बर ७ मा हुने विधायिका परिषद् (LegCo) निर्वाचनको प्रचार अभियान स्थगित गरिएको छ र आवश्यक परे निर्वाचन नै सार्ने विषयमा पुनरावलोकन गरिने उनले बताएका छन्।
सहयोग र जानकारीका लागि हटलाइनहरूः
प्रहरी बेपत्ता/मृतक सोधपुछ हटलाइनः 1878 999
मानसिक स्वास्थ्य सहायता हटलाइनः 18111
ताइपो जिल्ला सहायता डेस्क (एलिस हो मिउ लिङ नेर्सोल अस्पताल): 2658 4040
दानका लागि:
हङकङ शेङ कुंग हुईः 8209 8122
हङकङ फेमिली वेलफेयर सोसाइटीः 2772 2322


