न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २ डिसेम्बर । हङकङको ताइपो क्षेत्रस्थित वाङ फुक कोर्टको भयानक आगलागीमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार १५६ पुगेको छ।
प्रहरीले वाङ चेओङ हाउस र वाङ सुन हाउसको खोजीका क्रममा थप पाँच शव फेला पारेपछि मृतकको सङ्ख्या बढेको हो।
प्रहरीका अनुसार अहिलेसम्म १२७ जनाको शव पहिचान भएको छ भने करिब ३० जना अझै बेपत्ता छन्। वाङ चेओङ हाउसको खोजी कार्य करिब ४० प्रतिशत सकिएको र वाङ सुन हाउसको खोजी लगभग सम्पन्न भएको प्रहरीले जनाएको छ। अन्य पाँच ब्लकको खोजी यसअघि नै सकिसकेको छ।
आगो नलागेको वाङ ची हाउसका बासिन्दाहरू बुधबार र बिहीबार बिहान ९ बजेदेखि राति ९ बजेसम्म आफ्नो फ्ल्याटमा गएर व्यक्तिगत सामान लिन सक्नेछन्। नजिकैको क्वोङ फुक इस्टेटको क्वोङ यी हाउसमा दर्ता गरेपछि उनीहरूलाई घरभित्र १.५ घण्टासम्म समय दिइनेछ।
स्टाइरोफोम र जालीले आगो चाँडै फैलियो
प्रारम्भिक अनुसन्धानअनुसार लिफ्टको झ्यालहरू वरिपरि अत्यधिक ज्वलनशील स्टाइरोफोम सामग्री प्रयोग गरिएको र बाहिरी भागमा प्रयोग भएको हरियो जाली तथा प्लास्टिक शिटले पनि आगो तीव्र गतिमा फैलाउन सहयोग पुर्याएको पाइएको छ। यी सामग्रीहरू अग्नि सुरक्षा मापदण्डविपरीत रहेको अधिकारीहरूको भनाइ छ।
ठेकेदारका दुई निर्देशक र एक सल्लाहकार पक्राउ
आगलागीको कारण पत्ता लगाउन आपराधिक अनुसन्धान सुरु गरिएको छ। ठेक्का लिएको कम्पनीका दुई निर्देशक र एक जना परामर्शदातालाई कर्तव्य हत्या (manslaughter) अभियोगमा पक्राउ गरिएको छ। ३३ करोड हङकङ डलर (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बजेटको मर्मत तथा जीर्णोद्धार कार्यमा भ्रष्टाचार भएको शङ्कामा स्वतन्त्र भ्रष्टाचार नियन्त्रण निकाय (ICAC) ले छानबिन थालेको छ। प्रहरीले सम्पत्ति व्यवस्थापन कम्पनीको कार्यालयमा समेत छापा मारेको छ।
१९९६ यताकै सबैभन्दा ठूलो आगलागी
यो आगलागी सन् १९९६ को गार्ले बिल्डिङ आगलागी (४१ जनाको मृत्यु) भन्दा पनि ठूलो भएको छ र यो हङकङको आधुनिक इतिहासकै सबैभन्दा घातक आगलागी बनेको छ।
हङकङका प्रमुख जोन ली का चिउले सबै सार्वजनिक आवास क्षेत्रमा ठूला मर्मत भइरहेका भवनहरूको तत्काल निरीक्षण गर्न आदेश दिएका छन्। आगामी डिसेम्बर ७ मा हुने विधायिका परिषद् (LegCo) निर्वाचनको प्रचार अभियान स्थगित गरिएको छ र आवश्यक परे निर्वाचन नै सार्ने विषयमा पुनरावलोकन गरिने उनले बताएका छन्।
सहयोग र जानकारीका लागि हटलाइनहरूः
प्रहरी बेपत्ता/मृतक सोधपुछ हटलाइनः 1878 999
मानसिक स्वास्थ्य सहायता हटलाइनः 18111
ताइपो जिल्ला सहायता डेस्क (एलिस हो मिउ लिङ नेर्सोल अस्पताल): 2658 4040
दानका लागि:
हङकङ शेङ कुंग हुईः 8209 8122
हङकङ फेमिली वेलफेयर सोसाइटीः 2772 2322
स्रोतः चाईना मर्निङ पोष्ट


