एचकेनेपाल डट कम –
हङकङ, २ डिसेम्बर । हङकङको ताइपोस्थित वाङ फुक कोर्टमा गत हप्ता भएको भीषण आगलागीमा ज्यान गुमाएका १० जना विदेशी घरेलु कामदारका परिवारलाई प्रति परिवार करिब ८ लाख हङकङ डलर क्षतिपूर्ति दिने घोषणा भएको छ।
हङकङको श्रम तथा कल्याण मन्त्री क्रिस सन युक–हानले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै यो जानकारी गराएका हुन्।
उनका अनुसार आगलागी भएको भवनमा कुल २३५ जना विदेशी घरेलु कामदार कार्यरत थिए। जसमध्ये ९४ जना फिलिपिनी र १४१ जना इन्डोनेसियाली नागरिक थिए। हालसम्म १० जनाको मृत्यु भएको छ, ३ जना घाइते छन्, ३० जना बेपत्ता छन् भने १९२ जना सुरक्षित रहेको पुष्टि भएको छ।
मृतकका परिवारलाई दिने कुल ८ लाख हङकङ डलरमा निम्न रहेका छन्:
– कानुनी क्षतिपूर्तिबापत करिब ५ लाख हङकङ डलर
– एकमुष्ट सहानुभूति रकम २ लाख हङकङ डलर
– विशेष अनुदान ५० हजार हङकङ डलर
घाइते कामदारहरूलाई अस्पतालमा भर्ना भएको दिनको संख्याअनुसार ५० हजार वा १ लाख हङकङ डलर एकमुष्ट राहत दिइने छ। बाँकी सुरक्षित कामदार र बचेका सबैलाई जनही २० हजार हङकङ डलर तथा घाइते र सुरक्षित सबैलाई अक्टोपस कार्डमा २ हजार हङकङ डलर लोड गरेर दिइने मन्त्री सनले बताए।


