थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने

काठमाडौँ। विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको प्रचारप्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता थाइल्यान्डमा ‘लुम्बिनी–नेपाल मिनी म्याराथन’ आयोजना गरिने भएको छ।

-

थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार, गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिने यस प्रतियोगितामा १० किलोमिटर र पाँच किलोमिटर दौड समावेश गरिनेछ।

कार्यक्रमको तयारीका लागि नेपाली राजदूतावास थाइल्यान्डमा आइतबार सरोकारवाला सङ्घ संस्थाको सहभागितामा एक छलफल कार्यक्रम आयोजना गरिएको थियो। छलफलमा नेपाल एयरलाइन्स, गैर-आवासीय नेपाली सङ्घ-थाइल्यान्ड, थाई-नेपाल सङ्घ, थाई-नेपाल फ्रेन्डसिप एसोसिएसनसहित विभिन्न पेसामा संलग्न नेपाली उद्यमी र म्याराथन सञ्चालन गर्ने केही थाई नागरिकहरूको समेत उपस्थिति थियो।

कार्यक्रमका लागि थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षण तथा उपनियोग प्रमुख मोतीबहादुर श्रीशको संयोजकत्वमा नेपालसँग सम्बन्धित सबै सङ्घ-संस्थाका प्रतिनिधि सम्मिलित एक आयोजक समिति गठन गरिएको छ।

यस कार्यक्रमले बुद्धको जन्मस्थल नेपालको लुम्बिनीका साथै नेपाली पर्यटन, परिकार, सांस्कृतिक र निर्यातयोग्य वस्तुहरूको प्रचारप्रसार गरी प्रभावकारी रूपमा नेपाल चिनाउने लक्ष्य राखिएको नेपाली दूतावासले जनाएको छ।





Comments

comments

134560