म्याग्दी। जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा पुगेको छ। हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भइसकेको छ।
बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडकको किराखोर–नेप्टेचौर–तोरीपानी खण्डको स्तरोन्नतिका लागि सञ्चालित योजना निर्धारित समयअगावै सम्पन्न हुने चरणमा पुगेको हो ।
चार किलोमिटर दूरीको सडक ग्राभेल, ढलान र कालोपत्रे गरी स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र मङ्गलादेवी–सुवास कन्ट्रक्सनबिच २०८१ साल जेठमा रु १० करोड १६ लाख एक हजार ३६४ मा ठेक्का सम्झौता गरेको थियो।
दुई वर्ष ठेक्का अवधि रहेको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय प्रमुख डा महेन्द्र बानियाँले बताउनुभयो । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्म करिब दुई किलोमिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्रे गर्नुपर्नेमा एक किलोमिटर बढी भइसकेको छ ।
नेप्टेचौर–तोरीपानी खण्ड ग्राभेल गर्न आवश्यक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । तीन दशमलव पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले निर्धारित समयअगावै योजना सम्पन्न गराउन पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको बताए।
विसं २०५६ मा तत्कालीन जिल्ला विकास समितिले ट्र्याक खोलेको यो सडक २७ वर्षपछि स्तरोन्नति हुन लागेको हो।


