माघे संक्रान्तिको अवसरमा कोलोराडोमा तमु समुदायका तीन महिला सम्मानित

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो अमेरिका। कोलोराडो निवासी तमुहरूले माघे संक्रान्तिको अवसरमा एक कार्यक्रम आयोजना गरी समुदायमा अमूल्य योगदान पुर्‍याएका तीनजना महिला अग्रजहरूलाई सम्मान गरेका छन्।

तमु प्ये ल्हु संघ अमेरिकाको आयोजनामा एक समारोहबीच उनीहरूलाई सम्मान गरिएको हो। यसरी सम्मानित हुनेहरूमा विभाग प्रमुख पार्वती गुरुङ, सन् १९९६ को एटलान्टा ओलम्पिकमा स्विमिङ विधामा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी निस्मा गुरुङ तथा चलचित्र नायिका मोहिनी गुरुङ रहेका छन्। उनीहरूलाई तमु संस्कृति अनुसार क्रमु ओडाई सम्मान गरिएको तमु प्ये ल्हु संघ अमेरिकाका उपाध्यक्ष सन्तोष क्रोम्छे तमुले बताएका छन्।

तमु प्ये ल्हु संघ अमेरिकाका अध्यक्ष चक्रबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष ढकबहादुर ल्हेगे तमुले स्वागत तथा शुभकामना मन्तव्य दिएका थिए। संस्थाका बुद्धिजीवी मीनबहादुर क्रोम्छे तमुले माँ ङि त्हे पर्वको धार्मिक महत्व र ऐतिहासिक पक्षमाथि प्रकाश पारेका थिए।

तमु जातिको पुर्खौली धर्म बोन धर्म अनुसार माघे संक्रान्ति (माँ ङिँ त्हे) पनि एक महत्वपूर्ण चाडपर्वमध्ये पर्दछ। तमु जातिको मौलिक संस्कार, संस्कृति, परम्परा, भाषा, भेषभूषा तथा ऐतिहासिक संरचना र पृष्ठभूमिको संरक्षण, सम्बर्धन तथा प्रवर्धनका लागि जन्मदेखि मृत्युसम्मका संस्कार र परम्परा तथा प्राचीन पौराणिक जातीय सांस्कृतिक धनी तमु जातिको आफ्नै रीतिरिवाज, चाडपर्व सम्बन्धी आफ्नै विशिष्ट परम्परा अझैसम्म जीवित रहेको छ। तमु जातिको पुर्खौली धर्म बोन धर्म अनुसार माघे संक्रान्ति पनि एक महत्वपूर्ण चाडपर्वमध्ये पर्दछ। माँ ङिँलाई तमुहरू परममाताको रूपमा पूजा गर्दछन्। यस दिन उहाँको नाममा पूजा गरेर आफ्ना चेलीबेटीहरूलाई माना चामल दिने र माया सद्भाव बाँड्ने चलन रहिआएको छ।

कार्यक्रममा ओलम्पिक खेलाडी निस्मा गुरुङले ओलम्पिकमा स्विमिङ विधामा नेपालको प्रतिनिधित्व गर्दाको अनुभव बाँडेकी थिइन्। उनले भव्य कार्यक्रम आयोजना गरेर आफूहरूलाई सम्मान गरेकोमा सबैलाई धन्यवाद दिइन्।

तमु समुदायको इतिहास, संस्कार र एकता सँग जोडिएको छ। प्ये मा आपा कर्भ कथामा छोराहरूबाट प्येको संरक्षण नदेखेपछि छोरीलाई ज्ञान दिएको र पछि त्यो छोरीले आफ्ना भाइलाई हस्तान्तरण गरेर ज्ञान विद्या सुरक्षित गरेको कथन रहेको छ। यस समुदायमा विशेष गरी मृत्यु संस्कारमा चेलीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। तमु चलनअनुसार मैतालु बोक्ने, प्रसाद ल्याउने र सबैलाई चोख्याएर मात्र कार्य सुरु र समाप्त गर्ने जिम्मा चेलीको हुन्छ। यसकारण री च्हमी एक घरकी मात्र होइनन्, सम्पूर्ण कुल र समाजका लागि सम्मानयोग्य र अपरिहार्य व्यक्तित्व हुन्।

चन्द्र ल्हेगे तमुबाट सञ्चालित कार्यक्रममा संस्थाका सहकोषाध्यक्ष बिनोद टु क्लेप्री तमुबाट गत ल्होसारको आयव्यय प्रस्तुत गरिएको थियो। संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापतिबाट कार्यक्रममा उपस्थित बिक्रम तमु, सपना तमु, बिस्नु तमु र बिपना तमुहरूलाई फूल दिएर स्वागत गरिएको थियो। उनले ल्होसारमा आ-आफ्नो भूमिका निर्वाह गर्ने सम्पूर्ण सदस्यहरूलाई हार्दिक आभार प्रकट गरे। उक्त ल्होसार कार्यक्रमको सांस्कृतिक प्रसंशा गर्दै सम्पूर्ण कलाकारहरूलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेका थिए।

दोस्रो चरणको कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेलहरू खेलाइएका थिए। कार्यक्रम चन्द्र ल्हेगे तमुले सञ्चालन गरेका थिए। राम तमु, कैलाश तमु, बिनोद तमुले सहायक भूमिका निर्वाह गरेका थिए। खेलकुद प्रतियोगिताका विजेता तथा उपविजेता टिमहरूलाई संस्थाका अध्यक्षबाट नगद पुरस्कार वितरण गरिएको थियो। प्रतियोगितापछि रात्रिभोजसँगै नाचगानका साथ कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष सन्तोष क्रोम्छे तमुले बताएका छन्।





Comments

comments

135199