नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो अमेरिका। मातृभूमि नेपालको धनकुटा जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गर्न गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका कोलोराडो च्याप्टरले आर्थिक सहयोग सङ्कलन गरी पठाएको छ।
जिल्ला सदरमुकाममा अवस्थित ११२ वर्ष पुरानो अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाको अगुवाइमा, जिल्ला अस्पताल तथा गैरआवासीय नेपाली संघ (NRNA) को सहकार्यमा आर्थिक सहयोग सङ्कलन कार्यक्रम सञ्चालन गरिएको थियो। यो जानकारी NRNA NCC USA कोलोराडो च्याप्टरका अध्यक्ष निमा शेर्पाले दिएका छन्।
सहयोग सङ्कलन कार्यक्रममार्फत कुल १ हजार ४ सय ५४ डलर रकम सङ्कलन भएको थियो। उक्त रकम नेपाल पठाउँदा २ लाख ८ हजार ९ सय २८ रुपैयाँ भएको र नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाको माछापुच्छ्रे बैंक लिमिटेडमा जम्मा गरिएको शेर्पाले बताएका छन्।
सङ्कलित रकममा NRNA NCC USA कोलोराडो च्याप्टरमार्फत ८ सय ८६ डलर र SHERPA ASSOCIATION OF COLORADO मार्फत ५ सय ६८ डलर सङ्कलन भएको हो।
धनकुटा जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना भएसँगै आपतकालीन अवस्था, जटिल उपचार तथा गर्भवती आमा लगायतका बिरामीहरूको जीवनरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।
यस पवित्र, मानवीय तथा जीवनदायी कार्यमा आर्थिक, नैतिक तथा संस्थागत सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दाताहरू, सहयोगी संघ-संस्था तथा शुभेच्छुकहरूमा NRNA NCC USA कोलोराडो च्याप्टरले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।


