काठमाडौं, नेपाली भाषा, साहित्य तथा प्राज्ञिक क्षेत्रमा सक्रिय नइ एकेडेमीले नेपाल र भारतबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले तीनदिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ।
सम्मेलन आगामी चैत २७, २८ र २९ गते (ग्रेगोरियन क्यालेन्डरअनुसार अप्रिल १०, ११ र १२) काठमाडौंमा हुने एकेडेमीले जनाएको छ। यसमा नेपाल र भारतका विभिन्न विश्वविद्यालयहरूमा नेपाली भाषा तथा साहित्यको विद्यावारिधि (पीएचडी) तहसम्मको पठनपाठन र अनुसन्धानमा संलग्न प्राध्यापक तथा प्राज्ञहरू सहभागी हुनेछन्।
सम्मेलनमा दुवै देशका कुल २८ जना प्राज्ञहरूले आफ्ना कार्यपत्र (दस्ताबेज) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसले नेपाली भाषा-साहित्यको उच्च शिक्षा तथा अनुसन्धानमा दुवै मुलुकका अनुभव आदानप्रदान गर्ने, नयाँ विषयवस्तुमा छलफल गर्ने तथा सहकार्यका सम्भावनाहरू खोज्ने अवसर प्रदान गर्नेछ।
नइ एकेडेमीले यस सम्मेलनको सर्वोच्च प्राज्ञिक नेतृत्व महासमालोचक प्रा. डा. वासुदेव त्रिपाठीले गर्नुहुनेछ । सम्मेलनका संयोजक प्रा. डा. महादेव अवस्थी रहनुभएको छ भने सल्लाहकारको भूमिकामा प्रा. केशव सुवेदी रहनुभएको छ।
नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सम्मेलन नेपाल र भारतका विश्वविद्यालयहरूबीच नेपाली भाषा-साहित्यको क्षेत्रमा रहेका समानता र विविधतालाई उजागर गर्दै भावी पुस्ताका लागि सहकार्यको आधार तयार पार्न महत्वपूर्ण हुनेछ।”
नइ एकेडेमीले विगतमा पनि विभिन्न साहित्यिक तथा प्राज्ञिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस पटकको सम्मेलनले दुई छिमेकी मुलुकका शैक्षिक समुदायलाई नजिक ल्याउने अपेक्षा गरिएको छ।


