हङकङकी ७३ वर्षीया वृद्धा पतिको हत्या आरोपमा पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २३ जनवरी। हङकङको चिम शा चुईस्थित रामाडा ग्रान्ड होटेलको कोठामा लामो समयदेखि भाडामा बसेका ७७ वर्षीय वृद्ध पुरुष छुरा प्रहारबाट मारिएको अवस्थामा फेला परेका छन्। प्रहरीले उनको ७३ वर्षीया श्रीमतीलाई हत्याको आरोपमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार, बिहीबार दिउँसो होटेलको सफाइ गर्ने कर्मचारीले दम्पती दुवैलाई रगताम्य र अचेत अवस्थामा फेला पारेका थिए। श्रीमान्लाई तत्काल अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भइसकेको थियो।

परीक्षणका क्रममा उनको घाँटीको दायाँ भागमा २ सेन्टिमिटर गहिरो घाउसहित शरीरका विभिन्न भागमा छुरा प्रहारका चोटहरू थिए।

प्रहरीले घटनालाई सुरुमा आत्महत्या ठाने पनि पछि हत्यामा परिवर्तन गरेको छ।

श्रीमती गम्भीर अवस्थामा अस्पतालको आईसीयू मा उपचाररत छन्। प्रहरीले घटनास्थलबाट छुरा र अन्य प्रमाणहरू बरामद गरेको जनाएको छ।





Comments

comments

135234