झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक र सहसंयोजक तोकिएका छन्।
संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री देवेन्द्र दाहाल तथा सहसंयोजकमा नेताद्वय दीपक कार्की र मेनुका काफ्ले तोकिएका छन् ।
यसै सन्दर्भमा सहसंयोजक एवम् एमालेका केन्द्रीय सदस्य कार्कीले झापाको गौरादहमा शुक्रबार आयोजित निर्वाचन क्षेत्र नम्बर ५ समन्वय कमिटीको बैठकले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको जानकारी दिए ।
परिचालन कमिटी मातहत रहने गरी नौवटा उपसमिति गठन गरिएको छ । सहसंयोजक कार्कीका अनुसार कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका पार्टीका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग तथा केन्द्रीय विभाग (वर्तमान र निर्वतमान) सम्बद्ध नेताहरूलाई समेटिएको छ।
यसैगरी जिल्ला कमिटीका पदाधिकारी, विभागीय सदस्य, सल्लाहकार परिषद्का सदस्यहरु पनि निर्वाचन परिचालन कमिटीमा समेटिएका छन्।
त्यस्तै स्थानीय र प्रदेशका निर्वाचित जनप्रतिनिधि, जनसङ्गठनका केन्द्रीय, प्रदेशका पालिका कमिटीका पदाधिकारीसहित सदस्यहरू र क्षेत्रीय एवम् प्रदेश समन्वय कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन परिचालन कमिटीमा समावेश गरिएको छ।


