मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या समाधान गर्दै यहाँको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका उनले मधेसमा रहेका विद्यमान समस्या समाधानका लागि आफूले सधैँ सहयोग गर्ने बताए।

यही माघ १२ गते मतदाता भेट्न यहाँ आएका सभापति थापाले काठमाडौँ फर्कनुअघि शुक्रबार सञ्चारकर्मीसँगको छलफलमा सर्लाहीका जनताबाट स्नेह, साथ र भरोसा लिएर आफू फर्किएको बताए । यहाँको बसाइँका क्रममा उनले मधेसका जनताको जीवनस्तर सुधार गर्दै पार्टी सङ्गठन सुदृढीकरण गर्नेलगायत विषयमा स्थानीय नेताकार्यकर्तासँग छलफल गरेका थिए।

सभापति थापाले चुनावी सभा र मतदातालाई सम्बोधन गर्दै आफू समग्र मुलुकसहित मधेसको विकासमा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले यहाँका नागरिकबाट पाएका साथ र स्नेह आफ्ना लागि प्रेरणाका स्रोत बनेका प्रतिक्रिया दिए।

“पाँच दिनसम्मको यहाँको बसाइँका क्रममा नागरिकका घरघरमा पुगिरहँदा उनीहरूले दिएको साथ र स्नेह मेरा लागि थप ऊर्जाका स्रोत बनेका छन् । मधेसको विकास र समृद्धिका लागि योजनाबद्ध काममा अग्रसर हुने प्रेरणा यहाँबाट प्राप्त भएको छ”, सभापति थापाले भने । सर्लाही बसाइँ उपलब्धिमूलक भएको भन्दै उनले स्थानीय पार्टी पङ्क्ति र जनताको साथ र सहयोग पाएको बताए।

यहाँका किसानका मल र बीउसम्बन्धी, उखु किसानको बाँकी भुक्तानीका विषय, कृषिजन्य उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए । सभापति थापा जनकपुर हुँदै विमानस्थलमार्फत काठमाडौँ फर्किएका पार्टीका जिल्ला नेता वीरेन्द्र सिंहले जानकारी दिए।





Comments

comments

135345