साफ महिला च्याम्पियनसिप : नेपाललाई पहिलो सफलता

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा साेमबार नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गरेको छ।

पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा नेपालकी सिर्जना बढुवालले खेलको ३६ औँ मिनेटमा गोल गरी घरेलु टोलीको अग्रता बनाइन् । खेलको ६९ औँ मिनेटमा नेपालले प्रजिता राईको गोलमार्फत अग्रता दोब्बर बनायो।

खेलमा दुई गोलले पछि परेको अवस्थामा भुटानले ८७ औँ मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन । भुटानकी सोनम चोडेनले गोल गरेकी थिइन् । घरेलु टोली नेपालले भुटानलाई पराजित गरेसँगै तीन अङ्क जोड्न सफल भयो । यससँगै नेपालको फाइनल प्रवेशको सम्भावना कायम भएको छ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो । भुटानको भने दुई वटै खेलमा पराजित भएपछि फाइनल प्रवेशको ढोका बन्द भएको छ । पहिलो खेलमा भुटानलाई बङ्गलादेशले १२–० गोलले हराएको थियो।

यसैगरी आज सम्पन्न पहिलो खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले पराजित गरेको थियो । बङ्गलादेशले हालसम्म दुई खेल जित्दै छ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । आफ्नो पहिलो खेलमा नेपाललाई हराएको भारतको तीन अङ्क रहेको छ । भुटानले हालसम्म कुनै पनि अङ्क जोड्न सकेको छैन।

लिग चरणको अन्तिम खेल माघ २१ मा भारत र भुटानका तथा नेपाल र बङ्गलादेशबिच खेल हुनेछ । माघ २४ मा अङ्क तालिकाको शीर्ष दुईमा रहने टोलीबिच प्रतियोगिताको फाइनल खेल हुनेछ।





Comments

comments

135381