काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी फागुन ३ देखि १७ गतेसम्म देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
देशभरका ६ हजार ७४३ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरी मतदातालाई मतदान प्रक्रियाबारे जानकारी गराइने आयोगले जनाएको छ।
प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्वयंसेवकहरूले आम मतदाताको बस्ती र घरदैलोमै पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान गर्ने सही तरिकाबारे सिकाउनेछन्। आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन जिल्ला र स्थानीय तहमा सम्पर्क व्यक्तिहरूलाई अनुगमनकर्ताका रूपमा तोकेको छ।
स्वयंसेवक र अनुगमनकर्ताका लागि आवश्यक तालिम तथा अभिमुखीकरण माघ महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको छ। निर्वाचनका बेला हुन सक्ने बदर मतको सङ्ख्या घटाउन र मतदातालाई गलत तथा भ्रामक सूचनाबाट जोगाउन यो कार्यक्रम ल्याइएको हो। आयोगले घरदैलोका अतिरिक्त सामाजिक सञ्जाल र आमसञ्चार माध्यमबाट पनि निर्वाचनसम्बन्धी सामग्रीहरू व्यापक रूपमा प्रचारप्रसार गरिरहेको छ।
मतदाता शिक्षा विशेष कार्यक्रम २०८२ अन्तर्गत मतदाताले मतपत्रको सही प्रयोग, गोप्य मतदानको महत्त्व र निर्वाचन आचारसंहिता जस्ता विषयमा जानकारी पाउनेछन्। संविधान र निर्वाचनसम्बन्धी कानुनको परिधिमा रहेर सचेत मतदान संस्कृतिको विकास गर्ने आयोगको मुख्य लक्ष्य रहेको छ।


