पोखरा, यूकेमा रहेका सचित गुरुङको १९ औं जन्मदिनको अवसरमा उनका बाबा चन्द्रबहादुर र आमा शान्ता गुरुङले नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीलाई आर्थिक सहयोग गरेका छन्।
छोराको जन्मदिनमा गुरुङ दम्पतीले एनपिजेए कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा २५ हजार रुपैयाँ सहयोग गरेका हुन्। सहारा क्लब पोखराले सञ्चालन गरेको आरा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा सचितका बाबा चन्द्रबहादुर गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका सचिव धनबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष, सहारा यूकेका सल्लाहकार र सहारा क्लब, पोखराका सदस्य समेत रहेका गुरुङ आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । नेपाल आएको समयमा उनले विभिन्न ठाउँमा सामाजिक सेवा पनि गरिरहेका छन्।
सहयोग ग्रहण पछि एनपिजेए कास्कीका सचिव गुरुङले अक्षयकोष दातालाई धन्यवाद दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । उक्त रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो।
छोरा सचितको जन्मदिनको अवसरमा गुरुङ दम्पतिले पोखरा छोरेपाटनमा रहेको मानव सेवा आश्रममा २५ हजार ५ सय रुपैयाँ नगद र बेलुकाको खानासहित खाद्यान्न सहयोग गरिसकेका छन् । साथै, सहारा क्लब, पोखराले सञ्चालन गरेको सहारा एकेडेमीमा रहेका बालकहरुलाई पनि बेलुकाको खाना र खाद्यान्न सहयोग उपलब्ध गराएका थिए।
चन्द्रबहादुर र शान्ता गुरुङ दम्पतीले यूकेमा गोर्खा हिल क्यास एण्ड क्यारी सञ्चालन गरिरहेका छन्। सचित अहिले यूकेमै सिभिल इन्जिनियरिङ पढिरहेका छन्।


