भोजपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देशको विकास हुन नसक्ने बताएका छन् । देश गफले नभई कामले बन्ने अध्यक्ष साम्पाङले बताए।
यहाँको हतुवागढी र आमचोक गाउँपालिकामा साेमबार भएको चुनावी सभा तथा भेटघाटका क्रममा अध्यक्ष साम्पाङले अन्य पार्टीहरुले काम गर्ने क्षमता नदेखाएको बताए । उनले गफले मात्रै मुलुक नबन्ने भएकाले श्रम अनिवार्य गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष साम्पाङले अन्य राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासनमै सीमित भएको बताउँदै काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत संस्कार देखिएको बताए। सो क्रममा अध्यक्ष साम्पाङले युवाहरुलाई पैसामा नलोभिन आग्रहसमेत गरे।
श्रम संस्कृति श्रम गर्ने र गरिखानेहरुको पार्टी भएकाले विश्वास गर्न उनले सबैलाई आग्रहसमेत गरे। अध्यक्ष साम्पाङले भोजपुर र उदयपुर जोड्ने चुहारको निर्माणाधीन पुलको समेत अवस्था बुझ्दै काम गर्ने अवसर दिएमा पुल बनाउने जिम्मा लिनेसमेत बताएका थिए । यो पुल भोजपुरको जीवनरेखा भएको बताउँदै साम्पाङले आठ वर्षमा पनि पुल नबनेकाले आफूहरुलाई काम गर्ने अवसर दिन आग्रह गरे।


