न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ,९ मार्च। नियमित मर्मतसम्भारका लागि पीक ट्राम सेवा सोमबारदेखि बिहीबारसम्म (९ देखि १२ मार्च २०२६) पूर्ण रूपमा निलम्बन गरिने भएको छ।
पीक ट्रामवे कम्पनीले जारी गरेको जानकारीअनुसार, रस्सी (रोप) को नियमित जाँच तथा मर्मत कार्यका कारण यो सेवा बन्द हुन लागेको हो। यस अवधिमा पीक टावर र स्काई टेरेस ४२८ भने नियमित समयमा खुला रहनेछन्।
सेवा बन्द हुँदा सेन्ट्रल फेरी पियरबाट पीक ट्राम सेन्ट्रल टर्मिनससम्म चल्ने सिटिबस रुट नम्बर १५सी पूर्ण रूपमा स्थगित हुनेछ।
आगन्तुक तथा यात्रुको सुविधाका लागि सिटिबस रुट नम्बर १५ लाई रुट परिवर्तन गरी सञ्चालन गरिनेछ। यो रुट बिहान १० बजेदेखि राति १० बजेसम्म पीक सेन्ट्रल टर्मिनस हुँदै जानेछ।
यसबाहेक, सिटिबसका रुट १५ र X15 तथा हरियो मिनिबस रुट १ ले पनि आवश्यकताअनुसार थप सेवा सञ्चालन गरी यात्रु व्यवस्थापन गर्नेछन्।
ट्राम सञ्चालकले यात्रुमा पर्न सक्ने असुविधाप्रति क्षमाप्रार्थना गर्दै वैकल्पिक यातायातको प्रयोग गर्न आग्रह गरेका छन्।
(स्रोत: पीक ट्रामवे कम्पनी तथा हङकङ यातायात विभागको सूचना)


