न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ,९ मार्च। हङकङमा नेपालीहरूको अन्तर्राष्ट्रिय संस्था Association of Nepali Origin (ANO) को सम्मेलन तथा हङकङ समिति गठन सम्पन्न भएको छ।
गत शनिबार मार्च ७ तारिख जोर्डनस्थित एभरेष्ट रेस्टुरेन्ट एण्ड बारमा आयोजित उक्त कार्यक्रममा हङकङमा बसोबास गर्ने नेपालीहरू सहभागी थिए।
कार्यक्रमको उद्घाटन हङकङकी पहिलो नेपाली जिल्ला परिषद् सदस्य अरुणा गुरुङ र एएनओ अन्तर्राष्ट्रिय समितिका महासचिव चुडामणि भट्टराईले गरेका थिए।
सम्मेलनले मध्यपूर्वका विभिन्न देशमा कार्यरत नेपालीहरूको सुरक्षा विषयमा नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउँदै विश्वव्यापी सुरक्षा चुनौतीका सन्दर्भमा आवश्यक कदम चाल्न माग गरेको छ। साथै, जन्म स्थान तथा नागरिकता जे भए पनि नेपाली मूलका व्यक्तिहरूलाई मान्यता दिई नेपाली भाषा, कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण, प्रवर्द्धन र प्रसारमा एकजुट हुनुपर्ने प्रस्ताव पारित भएको छ।
सम्मेलनपछि एएनओको हङकङ समिति गठन गरिएको छ। युवा व्यवसायी विकी थापाको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष अजय राई, महासचिव सुकु लिम्बु, सचिव अनुज रोक्का, कोषाध्यक्ष सोफिया गुरुङ, प्रवक्ता सुरेश याक्सो र सदस्यहरूमा सरला गुरुङ, टोपराज तामाङ, रिस्ता गुरुङ, मेजिला गुरुङ, भीम गुरुङ, जुनु राना, विलि लामा राईलगायत चयन भएका छन्।
संस्थाका महासचिव चुडामणि भट्टराईले एएनओले जन्म तथा हुर्काइ जुनसुकै देशमा भए पनि नेपाली मूलका व्यक्तिहरूलाई जोड्ने अभियानका रूपमा अगाडि बढेको बताए।
एएनओले नेपाली संस्कृति संरक्षण तथा विश्वभरका नेपाली समुदायको हितमा काम गर्ने उद्देश्य राखेको छ। यो संस्था सन् २०२४ मा अमेरिकामा बसोबास गर्ने सामाजिक कार्यकर्ता दिल्ली अधिकारीको नेतृत्वमा स्थापना भएको हो।


