आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव हुने

फाईल तस्विर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव आयोजना गर्ने भएको छ।

महानगरपालिका वडा नं १५ को आयोजनामा आज यहाँ भएको छलफलमा वैशाख १२ देखि १९ गतेसम्म महोत्सव आयोजना गर्ने सहमती भएको हो।

वडा १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले वडाको प्राचीन धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक मठमन्दिर, चैत्य, गुम्बासहितको पहिचान, मूर्त सम्पदा तथा अमूर्त सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए।

उनका अनुसार यस वर्ष भूइँखेल, भूकम्प पार्क छाउनी, किमडोल, विजेश्वरी, डल्लु, डल्लु आवास गणेश स्थान, चमती दबू र अन्नपूर्ण क्षेत्र गरी आठ स्थानमा महोत्सव आयोजना गरिने छ । “महोत्सवले प्राचीन तर आझेलमा परेका स्मारकलाई पर्यटकीय स्थलका रूपमा प्रवर्द्धन गर्न, स्थानीय उत्पादनको बिक्रीबाट वडावासीको आयआर्जनमा टेवा पुग्ने र स्थानीय प्रतिभाको पहिचानमा सहयोग पुग्ने अपेक्षा छ”, वडाध्यक्ष डङ्गोलले भने।

महोत्सवलाई सद्भावयुक्त र सुरक्षित बनाउन महानगरीय प्रहरी वृत्त स्वयम्भू र महानगर प्रहरी बलका बीच समन्वय हुनेछ । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले विगतका महोत्सवको अनुभवबाट यस वर्ष थप सुरक्षा व्यवस्थापन चुस्त गरिने बताए।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख मोहनमणि अधिकारीले स्थानीयबासीको समान सहभागिताबाट शान्ति सुरक्षा प्रभावकारी हुने बताउँदै यसका लागि महानगर प्रहरी बलसँग सहकार्य गरिने बताए।

स्वयम्भू महाचैत्य, महाचैत्य स्थापनासँग मञ्जुश्रीको सम्बन्धका विषयमा जोडिएको लोककथा, जामुन गुमाजुको तान्त्रिक विद्यामा आधारित शान्तिपुर यस क्षेत्रका महत्वपूर्ण स्मारक हुन् । शक्तिपीठहरूमा शोभा भगवतीको मन्दिर, तान्त्रिक विद्यामा आधारित विजेश्वरी मन्दिर, गीता मन्दिर सांस्कृतिक पर्यटनका सम्भावित स्थान हुन् । प्राकृतिक विज्ञान सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटक दुवैका अवलोकन योग्य स्थान हो।

वडामा मनाइने जात्राहरूमा गुँला मेला, बुद्ध जयन्ती, बौद्धबाट सुरु भएर स्वयम्भूमा सकिने तेमाल जात्रा, हिमाली भेगका मानिसले मनाउने साकाधावा, साउनमा हुने रोपाइँ मेला मुख्य छन् । नेवार समुदायको बाहुल्यता भएको यस वडामा आर्य, तामाङ, गुरुङ, मगरसहित मिश्रित बसोबास छ।





Comments

comments

137554