के हाे बालेनले शपथ लिँदा लगाएकाे ‘सिलाम साक्मा’ ?

काठमाडौँ । सिंहदरबास्थित सङ्घीय संसद् भवन परिसरमा आज नवनिर्वाचित सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी र सांसदका सहयोगीको बाक्लो उपस्थिति थियो।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शपथका लागि संसद् भवन पुगेका कतिपय दलका सांसद एकापसमा चिनजान गर्दै थिए । कोही सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थिए भने कोही सांसद निर्वाचित भएकामा बधाई लिँदै थिए।

सङ्घीय संसद् सचिवालयले अपराह्न २ः०० बजेका लागि शपथ समारोहको आयोजना गरेको थियो । समारोहमा सहभागी हुन सांसदहरु आ–आफ्ना वेशभूषामा सजिएर संसद् भवन पुगेका थिए । शपथ समारोहको समय नजिकिँदै गर्दा भवन परिसरमा रहेका सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य सहयोगीको ध्यान भवनको दक्षिणतर्फको प्रवेशद्वारतर्फ केन्द्रित थियो।

अपराह्न करिब १ बजेर ५५ मिनेट जाँदा दक्षिणतर्फको प्रवेशद्वारबाट प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सवार बा.प्र ०१ ०३३ च ७८८१ नम्बरको निजी गाडी संसद् भवनको मूल प्रवेशद्वार अघि रोकियो । गाडीबाट ओर्लेर संसद् भवनको मूल प्रवेशद्वारतर्फ प्रस्थान गर्ने क्रममा उनी सञ्चारकर्मीको घेरामा परे।

सञ्चारकर्मीको घेरामुक्त गरेर नेता शाहलाई भवनको बहुउद्देश्यीय हलमा जाने ढोकातर्फ ल्याउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । सुरक्षाकर्मीको सहयोगमा शपथ हलतर्फ जाने क्रममा उपस्थित महानुभावले ‘बालेन सरकार’ भन्दै अभिवादन टक्र्याउँदा नेता शाह मुस्काउँदै भित्र प्रवेश गरे।

कालो कोटमा किराँती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ पहिरिएर नेता शाह शपथ समारोहस्थल प्रवेश गरे । किराँती भाषामा ‘सि’ को अर्थ मृत्यु र ‘लाम’ अर्थ बाटो भन्ने हुन्छ । सिलाम साक्मा लगाउँदा मृत्युको बाटो छेकिन्छ भन्ने विश्वास गरिन्छ । यसले शुभ सङ्केतको अर्थ पनि जनाउँछ भने यसलाई खासगरी रक्षा कवचका रुपमा लिइन्छ । समारोह स्थलमा उनी बैठक कक्षको पहिलो लहरमा बसे । रास्वपाबाट प्रधानमन्त्रीका रुपमा प्रस्तावित उनको दायाँतर्फ सभापति रवि लामिछाने र बायाँतर्फ उपसभापतिद्वय डिपी अर्याल र डा स्वर्णिम वाग्ले रहेका थिए।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले शपथ समारोहमा सहभागी नवनिर्वाचित सांसदहरुलाई स्वागत गरे । बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उपस्थित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराए । शपथ समारोह सकिएलगत्तै वरिष्ठ नेता शाह संसद् भवनबाट आफैँ गाडी चलाएर बाहिरिए।

झापा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीमा प्रस्तावित गरेको छ। रास्वपाले नेता शाहलाई संसदीय दलका रुपमा चयन गर्ने तयारी गरेको छ । त्यसका लागि आजै अपराह्न बैठक आह्वान गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा १८२ सिटसहित संसद्को सबैभन्दा ठूलो दल बनेको छ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित शाह युवापुस्ताबिच लोकप्रिय रहेका छन् । पेसाले ‘स्ट्रक्टचरल इन्जिनियर’ शाह चर्चित ‘-यापर’का रुपमा पनि परिचित छन्।





Comments

comments

137749