जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाखमा

फाइल तस्विर

जुम्ला । जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण आगामी वैशाख २६ गतेबाट सुरु हुने भएको छ।

कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीको सहभागी हुने म्याराथन जुम्ला सदरमुकाम खलङ्गा बजारबाट सुरु हुने क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

प्रतियोगितामा सहभागी हुनका लागि सूचना प्रकाशित गरिएको छ । कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष शाहीको भनाइ छ।

विभिन्न देशका धावक सहभागी हुने प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दौडका लागि कर्मचारी, उद्योगी–व्यापारी तथा इच्छुक व्यक्ति सहभागी हुन सक्नेछन् । जसका लागि रु ५०० दर्ता शुल्क तोकिएको छ। दश किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकाका लागि दर्ता शुल्क निःशुल्क गरिएको छ।

प्रतियोगीताको ५१ किलोमिटर दौडअन्तर्गत स्थानीय धावकका लागि रु तीन हजार र अन्य धावकका लागि रु पाँच हजार शुल्क निर्धारण गरिएको छ । पाँच किलोमिटरतर्फ प्रथम हुनेलाई रु पाँच हजार, दोस्रोलाई रु तीन हजार र तेस्रोलाई रु दुई हजार पुरस्कार तोकिएको अध्यक्ष शाहीले जानकारी दिए।

साथै १० किलोमिटरतर्फ प्रथम हुनेलाई रु १० हजार, दोस्रोलाई रु सात हजार र तेस्रोलाई रु पाँच हजार तथा ५१ किलोमिटरतर्फ प्रथम हुनेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार, तेस्रोलाई रु ५० हजार, चौथो र पाचौँलाई समान रु २०–२० हजार पुरस्कारको व्यवस्थापन गरिएको छ।

प्रतियोगितामा सहभागी हुनका लागि आगामी वैशाख २० गतेसम्म नाम दर्ता गर्नुपर्ने क्लबले जनाएको छ।





Comments

comments

137805