नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो अमेरिका। कोलोराडोस्थित नेपाली समुदायको साझा संस्था “नेपाली घर” ले भव्यताका साथ दाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
“नेपाली घर समुदायकै भर” भन्ने अभियानका साथ अगाडि बढिरहेको संस्थाले दीर्घकालीन विकास तथा विभिन्न गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण दाताहरूप्रति कृतज्ञता व्यक्त गर्न उक्त कार्यक्रम आयोजना गरेको हो।
नेपाली घरले विगतदेखि नै समुदायमा सामाजिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। यस यात्रामा दाताहरूको अमूल्य योगदान रहेको संस्थाले उल्लेख गरेको छ। यही योगदानप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त सहकार्यको आधार निर्माण गर्ने लक्ष्यसहित सम्मान कार्यक्रम आयोजना गरिएको बताइएको छ।
नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शनिबार सम्पन्न कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा सामुदायिक सहकार्य परिषद सदस्य रामप्रसाद श्रेष्ठ र संस्थाका अध्यक्ष बसन्त लम्सालले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रम साँझ ५ बजेदेखि राति ८ बजेसम्म चलेको थियो।
नेपाली घरको यो यात्रा यहाँसम्म आइपुग्न थुप्रै दाताहरूको निःस्वार्थ सहयोग, विश्वास र योगदानले महत्वपूर्ण भूमिका खेलेको छ। यही अमूल्य योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न कार्यक्रममा उपस्थित दाताहरूलाई विशेष उपहार प्रदान गरी सम्मान गरिएको थियो।
नेपाली सांस्कृतिक केन्द्र नेपाली घर निर्माण अभियानमा १ हजारदेखि ४ हजार ९ सय ९९ सम्म सहयोग गर्ने दाता २ सय २५ जना, ५ हजारदेखि ९ हजार ९ सय ९९ सम्म सहयोग गर्ने Patron दाता ९ जना, १० हजारभन्दा बढी सहयोग गर्ने ट्रस्टी दाता ४७ जना र संस्थागत दाता ९ जना रहेका छन्।
कार्यक्रममा उपस्थित दाताहरूलाई नेपाली घरका पूर्वअध्यक्ष लछुमन राना र वर्तमान अध्यक्ष बसन्त लम्सालले संयुक्त रूपमा नेपाली घरको लोगो अंकित कप, पिन र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए। यसलाई नेपाली घरसँगको सम्बन्धको प्रतीकको रूपमा सदैव रहिरहने विश्वास संस्थाले व्यक्त गरेको छ।
समारोहमा संस्थाका बरिष्ठ उपाध्यक्ष गंगा चौलागाईंले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य स्पष्ट पारेकी थिइन्। त्यसैगरी presiding council का सदस्य नविन दत्तले नेपाली घर कसरी अहिलेको अवस्थासम्म आइपुगेको भन्ने बारेमा समीक्षात्मक प्रस्तुति गरेका थिए।
नेपाली घरका कोषाध्यक्ष राजु खनालले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विगत, वर्तमान स्थिति र भविष्यको कार्ययोजना बारे जानकारी गराएका थिए भने संस्थाका युथ कोअर्डिनेटर तथा वेबसाइट बिज्ञ डेनी ब्राह्मणले संस्थाको वेबसाइट भविष्यमा कस्तो बन्दैछ भन्नेबारे जानकारी दिएका थिए।
कार्यक्रममा उपस्थित महानुभावहरूलाई थप मनोरञ्जन प्रदान गर्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका थिए। Sisters Group दिदीबहिनी समूह कोलोराडो, कोलोराडो नेवाःखलः र मगर संघको तर्फबाट कलाकार बहिनीहरूले सुन्दर नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी गायक मनोज सिवाकोटीले “जहाँ छन् बुद्धका आँखा” लगायत देशभक्तिका गीत गाएर सहभागीहरूको मन जित्न सफल भएका थिए।
समारोहमा कोलोराडोमा सक्रिय विभिन्न संघ-संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, दाता तथा नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो।
संस्थाका महासचिव भोला कटुवालद्वारा सञ्चालित कार्यक्रमको अन्त्यमा अध्यक्ष बसन्त लम्सालले नेपाली सांस्कृतिक केन्द्रलाई यहाँसम्म ल्याइपुर्याउन तन, मन र धनले सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै संस्थाद्वारा आयोजित दाता सम्मान तथा वार्षिक साधारणसभा सम्पन्न भएको घोषणा गरेका थिए।
विशेष साँझलाई अझ आत्मीय र स्मरणीय बनाउन सहभागी सम्पूर्ण महानुभावहरूका लागि रात्रिभोजको व्यवस्था गरिएको थियो।
यसैबीच, नेपाली घरले आइतबार आफ्नो फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै दाता सम्मान कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तै साथ र सहयोग रहिरहने आशा व्यक्त गरेको छ।


