पोखरा, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा कास्कीको याङ्जाकोटमा ‘एडभान्स फोटो पत्रकारिता तालिम’ सुरु भएको छ।
नेपाल फोटो पत्रकार संघ, कास्कीको सहकार्यमा कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा मङ्गलबारदेखि सुरु भएको तालिम बुधबार सकिनेछ । तालिमको उद्घाटन प्रेस रजिस्ट्रार विमला भण्डारीले गरेकी थिइन्।
कार्यक्रममा प्रेस रजिस्ट्रार भण्डारीले एउटा उत्कृष्ट तस्बिर हजारौं शब्दभन्दा पनि बलियो हुने भएकाले समाचारमा फोटो अत्यन्त आवश्यक रहेको बताइन् । ‘फोटो पत्रकारको एक क्लिकले इतिहास, मानवीय संवेदना र समाजको यथार्थ एकै सेकेन्डमा दस्तावेजीकरण गरेको देखिन्छ,’ उनले भनिन्, ‘भाषा नबुझेको अवस्थामा पनि तस्बिरले धेरै कुरा बुझाउँछ । तस्बिरले भूगोल, सीमा र भाषाको पर्खाल नाघेर एकै ठाउँमा राख्ने वातावरण सिर्जना गरेको छ।’
पछिल्लो समयको डिजिटल युगमा एआईको माध्यमबाट फेक तस्बिर बनाएर भ्रम फैलाउने गलत काम भइरहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिप्रति फोटो पत्रकारहरूलाई सजग रहनुपर्नेमा जोड दिइन् । यी चुनौतीहरूलाई चिर्दै अघि बढ्नुपर्ने फोटो पत्रकारहरूको सामु ठूलो चुनौती रहेको उनको भनाइ थियो । यी विषयमा पनि तालिममा छलफल हुनुपर्ने उनले बताइन्।
आगामी दिनमा फोटो पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि आवश्यकताका आधारमा तालिमका कार्यक्रम गर्दै जाने उनको प्रतिबद्धता थियो।
तालिमका मुख्य प्रशिक्षक हरि महर्जनले फोटोको कला सिक्नका लागि तालिम फाइदाजनक हुने बताए । प्रशिक्षार्थीहरूको आवश्यकता हेरी प्रशिक्षण दिएर फोटो पत्रकारितामा सँगै हिँड्ने उनले बताए।
नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले फोटोले समाचारलाई विश्वसनीय बनाउने भएकाले समाचारमा फोटो अनिवार्य रहेको बताए । त्यसैले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि प्रेस रजिस्ट्रारको कार्यालयको आयोजनामा भएको तालिममा संघले सहकार्य गरेको उनको भनाइ थियो।
कार्यक्रममा संघकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक राधिका कँडेलले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको बताइन्। सोहीअनुसार फोटो पत्रकारहरू प्रशिक्षित हुनेमा उनले विश्वास व्यक्त गरिन्।
तालिममा फोटोको आधारभूत ज्ञान, फोटोको प्रकार, कम्पोजिसन, फोटो क्याप्सन, फोटो स्टोरी, कानुनी प्रावधानलगायत विषयमा प्रशिक्षण दिइनेछ । हरि महर्जन, केशवशरण लामिछाने, घनश्याम पौडेल, कृष्णमणि बराल र दुर्गा रानामगरले तालिममा प्रशिक्षण दिनेछन्।
तालिममा पोखराका विभिन्न मिडियामा आवद्ध ४० जना फोटो पत्रकार सहभागी छन्।


