कर्णाली । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा विकको २७ दिनपछि दाहसंस्कार गरिएको छ।
सुर्खेत जिल्ला अदालतले मङ्गलबार इनिशा मृत्यु प्रकरणसँग जोडिएका चारै जना किशोरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको दुई दिनपछि परिवारले बिहीबार कर्णाली प्रदेश अस्पतालको शव गृहबाट उनको शव बुझेका थिए । उनलाई आजै सांस्कृतिक विधिअनुसार भेरी नदीमा दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए।
मङ्गलबार न्यायाधीश दीपक ढकालको एकल इजलासले आरोपित चारै जनालाई पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन आदेश गरेको हो । आरोपित चारै जना नाबालक हुन् । उनीहरूलाई बाल सुधारगृहमा पठाइएको अदालतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए । उनका अनुसार विकको बलात्कारपछि हत्या भएको आरोपमा चारै जनाविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर गरिएको थियो।
फागुन २३ गते शनिबारका दिन उनी वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतको उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट उनका प्रेमी भनिएका एक किशोरलाई नियन्त्रणमा लिएको थियो।
इनिशाकी आमाले सामूहिक बलात्कारपछि छोरीको हत्या भएको भन्दै फागुन २४ गते अन्य तीन जनाविरुद्ध प्रहरीमा निवेदन दिएसँगै प्रहरीले तीन किशोरलाई पनि सोही दिन पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई कानुनी अनुसन्धानको दायरामा ल्याई आफूलाई न्यायको अनुभूति नदिलाएसम्म शव नबुझ्ने अडान लिएको इनिशाको परिवारले अदालतले पुर्पपक्षका लागि थुनामा पठाएपछि आज उनको शव बुझेर अन्त्येष्टि गरेको छ।
गुर्भाकोट नगरपालिका–६ सुर्खेत बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीय इनिशा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन् । परिवारका अनुसार उनी फागुन २३ गते शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्।


