कोलोराडोमा आयोजित नयाँ वर्ष शुभकामना सांस्कृतिक साँझमा धर्मेन्द्र सेवान

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो अमेरिका। कोलोराडो निवासी नेपालीभाषी समुदायले लोकगायक धर्मेन्द्र सेवानको उपस्थितिमा एक भव्य शुभकामना सांस्कृतिक साँझ कार्यक्रमको आयोजना गरी नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान गरेका छन्।

नेपालीहरूको साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालले आयोजना गरेको शुभकामना साँझमा सहभागी भई उनीहरूले एकअर्कामा शुभकामना आदानप्रदान गरेका हुन्। कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरूको बाक्लो उपस्थिति रहेको थियो।

शनिबार साँझ नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’मा सम्पन्न भएको कार्यक्रममा सहभागी हुन केही नेपालीहरू दौरा-सुरुवाल, ढाका टोपी, गुन्यू-चोली लगाएर आएका थिए भने केहीले आफ्नो जातीय भेषभूषा झल्कने पहिरन लगाएका थिए।

नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर सुरु गरिएको शुभकामना साँझको पहिलो सत्रमा कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका पूर्वअध्यक्ष विनोद त्रिपाठी तथा विशेष अतिथिद्वय टिका पौडेल र पदम विश्वकर्माले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। संस्थाका अध्यक्ष आकृति राईले कार्यक्रम आयोजना गर्नुको उद्देश्यसहित उपस्थित सबैलाई स्वागत गरेकी थिइन्।
त्यसैगरी सोही कार्यक्रममा संस्थाका युथ कोअर्डिनेटर विष्णु बिबेकद्वारा लिखित पुस्तक ‘घाट गाउँ’का प्रमुख अतिथि तथा विशेष अतिथिहरूले संयुक्त रूपमा विमोचन गरेका थिए। विमोचन गर्नेहरूमा विनोद त्रिपाठी, टिका पौडेल, पदम विश्वकर्मा, डा. विजयराज शर्मा, अर्जुन बगाले, आकृति राई र लेखक विष्णु बिबेक रहेका थिए। बिमोचित पुस्तकबारे पदम विश्वकर्मा र अर्जुन बगालेले समीक्षा गरेका थिए।

कार्यक्रमको दोस्रो चरणमा सांगीतिक कार्यक्रम आयोजना गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो। स्थानीय बाल कलाकारहरूले लोक, आधुनिक तथा देशभक्ति लगायत विभिन्न गीत-सङ्गीतमा कम्मर मर्काउँदै नाचेको सुन्दर नृत्य हेर्दा आफूलाई नेपाली घरको आँगनमै भएको महसुस हुन्थ्यो।

कार्यक्रमका विशेष अतिथि तथा लोकगायक धर्मेन्द्र सेवानले विभिन्न चर्चित एक दर्जनभन्दा बढी गीत गाएर सहभागी दर्शकहरूलाई खूब नचाएका थिए। त्यसैगरी कार्यक्रममा गायिका सञ्जना पाण्डे, रनिशराज मैनाली, गायक जयराम लामिछाने लगायतका कलाकारहरूले सुमधुर गीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल भएका थिए।

कार्यक्रममा सहभागी कलाकारहरू तथा कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न पार्न आर्थिक सहयोग प्रदान गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष आकृति राईको सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाका कल्चर सेक्रेटरी रेखा धौराली र संस्थाका युथ कोअर्डिनेटर विष्णु बिबेकद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको थियो।

कार्यक्रममा कोलोराडोमा सक्रिय विभिन्न संघ-संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा नेपाली भाषी बुबा-आमा, दाजुभाइ, दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो।

“एक पटकको नेपाली सधैंको नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै नेपाली भाषी समुदायको परिचय झल्कने संस्कृति, भेषभूषा, खाना तथा मनोरञ्जनात्मक क्रियाकलापहरूको निरन्तरता र नयाँ पुस्तामा नेपालीपन जीवित राख्न संस्थाले दशकौंदेखि दशैं-तिहार शुभकामना कार्यक्रम, नेपाल डे परेड, नेपाली नयाँ वर्ष शुभकामना आदानप्रदान, समर पिकनिक लगायतका कार्यक्रमहरू गर्दै आएको छ।





Comments

comments

138068