म्याग्दी । रोजगारीका लागि बहराइन पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारी स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो। तीन छोराछोरी, वृद्ध बुबाआमा र भाइबहिनीको पठनपाठनदेखि घरव्यवहार चलाउने जिम्मेवारी बोकेका भीम विदेशबाट फर्किँदा निराश भए पनि उनले हिम्मत हारेनन्।
विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रापालन गर्ने सोच पलायो। आठ वर्षअघि सुरु गरेको घुम्ती गोठ बाख्रापालन व्यवसायले उनलाई अहिले स्वरोजगार र आत्मनिर्भर बनाएको छ। विदेशबाट फर्किनुपर्दा घरव्यवहार चलाउने खर्च कसरी जुटाउने भन्ने पिरलो भए पनि बाख्रापालन सुरु गरेपछि रोजगारीका लागि विदेश नै जानु नपर्ने महसुस भएको भीम बताउँछन्।
उनले बुबा लालबहादुर भण्डारीले पितृपुर्खाको पालादेखि गर्दै आएको बाख्रापालन पेसालाई व्यवस्थित बनाएर निरन्तरता दिएका हुन्। ५० वटाबाट सुरु भएको उनको गोठमा हाल स्थानीय खरी जातका १५० वटा बाख्रा छन्। उनलाई बाख्रापालनमा श्रीमती विपनाले साथ दिएकी छन्।
वार्षिक १५ देखि २० वटा खसीबोका र सोही सङ्ख्यामा पाठापाठी तथा माउ बाख्रा बिक्री गर्ने यो दम्पती बाख्रापालनबाट सन्तुष्ट छन्। कुनै समय गोठमा बाख्राको सङ्ख्या दुई सयसम्म पुगेको बताउँदै विपनाले अर्काको देशमा गर्ने दुःख आफ्नै ठाउँमा गर्ने हो भने आत्मनिर्भर बन्न सकिने अनुभव सुनाइन्।
अग्ला र धेरै तौल हुने खरी स्थानीय जातको बाख्रा हो। औसतमा एक बेतमा एउटा पाठापाठी जन्माउने खरीका खसी दुई वर्ष पालेपछि प्रतिगोटा २० हजार रुपैयाँमा बिक्री हुने विपना बताउँछिन्। धेरै सङ्ख्यामा दानापानी र घाँस पुर्याउन नसकिने हुँदा ग्रामीण क्षेत्रका किसानले घुम्ती गोठमा बाख्रापालन गर्छन्।
कात्तिकमा बेँसी झरेका भण्डारी दम्पतीको बाख्रागोठ हिजोआज फलीयागाउँको फेदीमा रहेको हुचिनमा छ। वैशाखको अन्तिम साता चरनका लागि बाख्रागोठ ढोरपाटन लैजाने उनीहरूको योजना छ। जेठ, असार र साउनमा गुर्जाघाटमा चराउने र भदौ–असोजमा त्योभन्दा माथिको बुकी अनेरीमा पुग्ने उनीहरूको दैनिकी हो।
त्रिपालको टहरामा रात कटाउने उनीहरूले बाख्राको सुरक्षाका लागि पाँचवटा कुकुर पालेका छन्। कुकुरले चितुवा लगायत जङ्गली जनावरको निगरानी गर्ने र बाख्रालाई बचाउन सहयोग गर्ने विपनाले बताइन्।
आफ्नै नाममा जग्गा जमिन नहुँदा व्यवसाय दर्ता गर्न नपाए पनि उनीहरूले यसैलाई जीविकोपार्जनको माध्यम बनाएका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गाउँपालिकाले खोप, प्राविधिक सेवा र सोलार जस्ता सहयोग उपलब्ध गराएका छन्। भण्डारी दम्पतीले बाख्राको औषधि उपचार निःशुल्क गर्न र पशु बिमाका लागि सहजीकरण गरिदिन राज्यसँग माग गरेका छन्। रासस


