हङकङमा २१ वर्षीय पाकिस्तानी युवकमाथि छुरा प्रहार

सन्दर्भ तस्विर

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १९ अप्रिल। एबरडिनस्थित टिन वान एस्टेटको टिन हङ हाउस बाहिर शनिबार बिहान भएको झगडामा एक २१ वर्षीय पाकिस्तानी युवक घाइते भएका छन्।

होहल्लाको विषयलाई लिएर भएको सामान्य विवादले उग्र रूप लिँदा उनीमाथि छुरा प्रहार भएको स्थानीय मिडियाले जनाएको छ।

२१ वर्षीय युवक र उनका १८ वर्षीय साथीको अन्य दुई व्यक्तिसँग सामान्य विषयमा भनाभन भएको थियो। सोही क्रममा आक्रमणकारीहरूले आफूहरू ‘ट्रायड’ (आपराधिक समूह) को सदस्य भएको दाबी गर्दै ती युवकमाथि हातपात र छुरा प्रहार गरेका थिए। आक्रमणपछि दुवै संदिग्ध घटनास्थलबाट फरार भएका छन्।

घटनाको सूचना पाएलगत्तै पुगेका प्रहरी अधिकारीहरूले पीडित युवकको हातमा चोट लागेको अवस्थामा फेला पारेका थिए। उनलाई उपचारका लागि क्वीन मेरी अस्पताल लगिएको छ।

प्रहरीले यस घटनालाई ‘घाइते बनाएको’ र ‘झुठो रूपमा ट्रायड सदस्य भएको दाबी गरेको’ मुद्दाका रूपमा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। हालसम्म यस मामिलामा कोही पनि पक्राउ परेका छैनन्। प्रारम्भिक अनुसन्धानका अनुसार, होहल्लाको विषयलाई लिएर उत्पन्न विवादका कारण यो घटना घटेको बुझिएको छ।





Comments

comments

138172