कास्की । संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्ने धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको दिनका अवसरमा ‘धौलागिरि आरोहण दिवस’ मनाइँदैछ।
यही वैशाख ३० गते बुधबार धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको ६६ वर्ष पूरा हुँदैछ।
सन् १९६० मे १३ मा स्विस-अस्ट्रियन संयुक्त आरोहण दलका म्याक्स आइसेलिनको नेतृत्वमा गएका दुई नेपालीसहित सात जना आरोहीले धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष मे १३ तारिखमा धौलागिरि आरोहण दिवस मनाउने गरिएको छ।
यस वर्ष पनि विविध कार्यक्रमसहित उक्त दिवस मनाउने तयारी भइरहेको ट्रेकिङ ऐजिन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले जनाएको छ । गत वर्ष पोखरामा ‘धौलागिरि पदयात्रा, समस्या, चुनौती र समाधान’ विषयक अन्तक्र्रियासहित सो दिवस मनाइएकामा यसपटक धवलागिरि हिमालको काख म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदी गाउँमा यो दिवस मनाइने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।
“६६औँ धौलागिरि आरोहण दिवससहित धौलागिरि गाउँपालिकाका पर्यटकीय गन्तव्य तथा पदमार्ग प्रवर्द्धन कार्यक्रम एकैसाथ गर्दैछौँ”, उनले भने, “दिवसको औपचारिक समारोहमा धवलागिरि हिमाल आरोहण गरेका आरोहीलाई सम्मान गरिनेछ।”
टान गण्डकीको आयोजना, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र धौलागिरि गाउँपालिकाको समन्वयमा उक्त दिवस मनाउन लागिएको आचार्यले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालको प्रमुख आतिथ्यता रहने जनाइएको छ।
आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्ने पहिलो आरोहण दलमा नेपालबाट निमा दोर्जी शेर्पा र ङवाङ्ग दोर्जी शेर्पा सम्मिलित रहेका थिए । धौलागिरि हिमालमा पहिलोपटक गरिएको आरोहणलाई नेपालको पर्वतारोणको इतिहासमा महत्त्वपूर्ण दिनका रूपमा स्मरण गर्ने गरिएको टान गण्डकीका अध्यक्ष आचार्यले बताए।
हिमाल आरोहणसँगै पदयात्रा पर्यटनका लागि धौलागिरि क्षेत्रलाई विश्वकै आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ छ । पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि धौलागिरि क्षेत्र पर्यटन पूर्वाधार र प्रचारप्रसार अभावमा पछाडि परेको छ।
विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग नासिँदै र छोटिँदै गएका बेला धौलागिरि चक्रीय पदमार्ग त्यसको विकल्प बन्न सक्ने पर्यटन क्षेत्रका अगुवा बताउँछन् । धौलागिरि हिमाल साहसिक पर्वतारोहीको आकर्षणमा पर्ने गरेको छ।
नेपालका अन्य हिमालको भन्दा फरक आरोहण अनुभव हुने आरोहीहरूको भनाइ छ । यहाँको भू-बनोट र हावापानीका कारण धौलागिरि हिमाल आरोहणलाई जोखिमयुक्त मानिन्छ । टान गण्डकीका अध्यक्ष आचार्यले गण्डकी प्रदेशमा पर्ने आठ हजार मिटरमाथिका धौलागिरि, अन्नपूर्ण र मनास्लु हिमाल आरोहण दिवसमा पर्यटन प्रवर्द्धनका लागि विविध कार्यक्रम गर्दै आइएको बताए। रासस


