न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ९ मे। हङकङको शाम शुई पो मा शुक्रबार साँझ “नराम्रो व्यवहार” देखाएको भन्ने निहुँमा भएको कुटाकुटमा संलग्न तीन पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नेपाली मूलका बाबु र छोरा समेत रहेका छन्।
द स्ट्याण्डर्ड एचकेका अनुसार उक्त घटना हिजो साँझ करिब ६:१० बजे घटेको थियो। घटनास्थलमा तत्काल पुगेका प्रहरी अधिकारीहरूले झडपमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएका थिए।
प्रारम्भिक अनुसन्धान अनुसार, एक ६१ वर्षीय वृद्ध र ३४ वर्षीय पुरुषबीच सामान्य भनाभनबाट सुरु भएको विवादले उग्र रूप लिएको थियो। सोही क्रममा ६१ वर्षीय वृद्धका ३८ वर्षीय छोरा पनि झगडामा सामेल भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो।
सार्वजनिक स्थानमा कुटपिट तथा दंगा गरेको आशंकामा प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ। हाल यो मुद्दा थप अनुसन्धानका लागि शाम शुई पो जिल्ला प्रहरी अपराध अनुसन्धान टोलीलाई सुम्पिएको छ।
स्रोतका अनुसार, पक्राउ परेका ६१ र ३८ वर्षीय व्यक्तिहरू नेपाली मूलका बाबु-छोरा हुन् र उनीहरू दुवैसँग हङकङको परिचयपत्र (HKID) रहेको छ। अर्का ३४ वर्षीय पुरुष गैर-चिनियाँ नागरिक जो ‘रिकग्नाइजेन्स फर्म’ (जसलाई सामान्यतया ‘गोइङ-आउट पास’ भनिन्छ) मार्फत हङकङमा बसिरहेका थिए।
झगडाको मुख्य कारण एकअर्कालाई औंला ठड्याएको र घमण्डी व्यवहार देखाएको विषय रहेको बताइएको छ।
प्रत्यक्षदर्शीका अनुसार कुटाकुट यति हिंस्रक थियो कि उनीहरूका लुगासमेत च्यातिएका थिए भने व्यक्तिगत सामानहरू सडकभरि छरिएका थिए।
झडपमा परी ६१ वर्षीय नेपाली वृद्धको टाउको र खुट्टामा चोट लागेको छ भने ३४ वर्षीय पुरुषको छाती र खुट्टामा चोट लागेको छ। घाइते दुवै जनालाई सचेत अवस्थामै क्यारिटास मेडिकल सेन्टर लगिएको थियो।
३८ वर्षीय छोरालाई भने कुनै चोटपटक नलागेकाले सोधपुछका लागि सिधै प्रहरी चौकी लगिएको छ।


