काठमाडौँ । दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७ गते काठमाडौँमा आयोजना हुदैछ।
एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
यसवर्ष विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिने एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले बताए।
“हामीले गतवर्षदेखि सगरमाथा आरोहीलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम सुरुआत गरेका थियौँ”, उनले भने, “पहिलो संस्करण भव्य रूपमा सम्पन्न हुनुले नै यसको महत्व र दायरा प्रष्ट पारेको छ । यो नेपालको मात्र नभएर विश्वव्यापी मञ्च बनिसकेको छ । यसपटक नेपाल सरकारको प्रत्यक्ष सहकार्य र समन्वय रहेकाले हामी थप उत्साहित भएका छौँ।”
हिमालयको भविष्यका लागि एकजुट आवाज विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहीहरूको अद्वितीय साहस र योगदानलाई कदर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको तथा यसबाट नेपालको पर्वतीय पर्यटनलाई विश्वमाझ अझ उच्च राख्न र साहसी आरोहीको सम्मानका लागि मद्दत पुग्ने आयोजकको विश्वास छ।
यो संस्करणमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहनेछ । राष्ट्रपति पौडेलले ‘समिटर्स ब्रेकफास्ट’ मा सरिक भई आरोहीहरुसँग साक्षात्कार गर्नुहुनेछ । तत्पश्चात प्रभातफेरि र आरोही सम्मान कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज (गणेश) पौडेलले गर्नेछन्। रासस


