दाङ । तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका माधव केसीले व्यावसायिक रूपमा उन्नत जातका माहुरी पालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्।
विगत दुई दशकदेखि सो पेसा अँगालेका उनले अहिले सफल माहुरी उद्यमीका रूपमा परिचित छन् । केसीले तीन जनालाई रोजगारी दिनु भई वार्षिक रु आठ लाख बचत गरेका छन्।
कृषि क्षेत्रमा राम्रो सम्भावना देखेर बिएससी एजी तहको पढाइ सकी विसं २०६२ सालदेखि प्राकृतिक मौरीपालनतर्फ आकर्षित भएपछि सुरुमा उन्ले २५ घार मौरीबाट व्यवसाय सुरु गरेका थिए।
केसीसँग हाल ३०० घार मेलिफेरा जातका माहुरीका घार छन् । उहाँले यस वर्ष १२ टन मह उत्पादन गर्नुभएको थियो । उनले बजारमा प्रतिकिलो रु ५०० देखि रु ८०० सम्म मह बिक्री गर्दै आएका छन्।
केसीको फार्ममा अहिलेसम्म रु एक करोडको लगानी भइसकेको छ । उहाँले मह बिक्रीबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्छन् । माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त गरेका केसीले महले बजार पाउन नसक्दा कुनै बखत घाटा व्यहोर्नु परेको थियो । बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि अप्ठेरो पर्दै गएको छ। रासस


