काठमाडौँ । सरकारले निजी क्षेत्रको साझेदारीमा पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने भएको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को दुवै सदनलाई आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै पोखरा र गौतमबुद्ध विमानस्थलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थापन अघि बढाइने बताए।
अर्थमन्त्री डा वाग्लेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रु एक अर्ब ५३ करोड विनियोजन गरिएको जानकारी दिए। निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको ढाँचा आगामी छ महिनाभित्र तय गरिने बताए। चितवनको भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन उडानको व्यवस्था गरिने र सुर्खेत, मुगुको ताल्चा र दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति गरिने मन्त्री वाग्लेले बताए।
सरकारले ऐतिहासिक स्थलको विकासअन्तर्गत तिलौराकोट, देवदह, कपिलवस्तु र रामग्राम जस्ता ऐतिहासिकस्थलको बृहत्तर पूर्वाधार विकास गरिने बताएको छ । बृहत्तर लुम्बिनी विकास कार्यक्रमका लागि रु ८३ करोड विनियोजन गरिएको छ ।
जनकपुरलाई ‘विवाह गन्तव्य’ को रूपमा ब्राण्डिङ गरिनेछ । रामजानकी पथ र रामजानकी परिक्रमा सडकको स्तरोन्नति गरिने भएको छ। रासस


