सिङ्गापुरका सुरक्षाकर्मीलाई अश्लील गालीगलौज गर्ने हङकङका प्रिन्सिपल बर्खास्त

ली चेउक-हिङले गत मे २८ मा आफ्नो राजीनामा पत्र बुझाएका थिए, जसमा उनले आगामी अगस्ट ३१ लाई आफ्नो अन्तिम कार्यदिन बनाउन अनुरोध गरेका थिए। तस्बिर: ह्यान्डआउट

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ३ जुन । सिङ्गापुर शैक्षिक भ्रमणमा गएका बेला त्यहाँका सुरक्षाकर्मीमाथि अश्लील गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा हङकङका एक विद्यालयका प्रधानाध्यापक बर्खास्तमा परेका छन्।

तुएन मुनस्थित सान वुई कमर्सियल सोसाइटी सेकेन्डरी स्कूलको व्यवस्थापन समितिले प्रधानाध्यापक ली चेउक-हिङलाई तत्काल लागू हुने गरी पदबाट बर्खास्त गरेको घोषणा बुधबार गरेको हो।

घटना सार्वजनिक भएपछि प्रधानाध्यापक लीले गत मे २८ मा आफ्नो राजीनामा बुझाउँदै आगामी अगस्ट ३१ लाई आफ्नो अन्तिम कार्यदिन बनाउन अनुरोध गरेका थिए। तर, विद्यालय व्यवस्थापन समितिले उनको राजीनामा अस्वीकार गर्दै सिधै बर्खास्त गर्ने निर्णय गरेको हो।

“यदि उनलाई आगामी अगस्ट ३१ सम्म प्रधानाध्यापककै पदमा बहाल रहन दिने हो भने, यसले विद्यालयको दैनिक कार्यसञ्चालनमा गम्भीर बाधा पुर्‍याउनेछ। साथै, विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई यो तनावपूर्ण अवस्थाबाट चाँडोभन्दा चाँडो बाहिर निस्कन अवरोध पुग्नेछ,” विद्यालय व्यवस्थापन समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ। “त्यसैले, लीलाई तत्काल प्रभावका साथ बर्खास्त गर्दै विद्यालयका सम्पूर्ण जिम्मेवारीहरूबाट मुक्त गरिएको छ।”

समितिका अनुसार शैक्षिक भ्रमणका क्रममा लीले प्रदर्शन गरेको “अशिष्ट र असभ्य” व्यवहारले शिक्षण कर्मचारीका लागि तोकिएको व्यावसायिक आचारसंहिता, विशेष गरी शिक्षा ब्युरोद्वारा निर्धारित दिशानिर्देशहरूको गम्भीर उल्लंघन गरेको पुष्टि भएको छ।

(स्रोत: साउथ चाइना मर्निंग पोस्ट)





Comments

comments

139013