लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो छैटौँ विश्वकप सहभागितालाई अविस्मरणीय बनाएका छन्।
कप्तान मेस्सीको ह्याट्रिक प्रेरित प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा अभियान विजयी सुरुआत गर्दा उनी विश्वकप इतिहासका संयुक्त सर्वाधिक गोलकर्ता पनि बनेका छन्।
कन्सास सिटीस्थित ६९ हजार ४५ दर्शक क्षमता भएको एरोहेड स्टेडियममा मङ्गलबार भएको खेलमा ३८ वर्षीय मेस्सीले तीन गोल गर्दै आफ्नो विश्वकप गोल सङ्ख्या १६ पुर्याए । यससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोसको सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका छन्।
मेस्सीका लागि यो खेल अर्को कारणले पनि विशेष रह्यो । उनले आफ्नो करियरको २००औँ अन्तर्राष्ट्रिय खेल खेल्दै विश्वकपका छ संस्करणमा सहभागिता जनाउने पहिलो फुटबलरको इतिहास रचे । सन् २००६ मा जर्मनीमा किशोर खेलाडीका रूपमा पहिलो विश्वकप खेलेका मेस्सीले दुई दशक लामो यात्रामा अर्को ऐतिहासिक अध्याय थपेका हुन्।
ग्रुप ‘जे’ अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले सुरुदेखि नै पकड जमाएको थियो । मेस्सीले १७औँ मिनेटमा सुन्दर कर्लिङ प्रहारमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यो गोलसँगै उनको विश्वकप गोल सङ्ख्या १४ पुगेको थियो, जसले उनलाई जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एमबाप्पेको बराबरीमा पुर्यायो।
खेलको ६०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको प्रहार गोलरक्षकबाट फर्किएपछि मेस्सीले रिबाउन्डलाई सदुपयोग गर्दै दोस्रो गोल गरे। यससँगै उनले ब्राजिलका महान् स्ट्राइकर रोनाल्डोको १५ गोलको कीर्तिमान पनि बराबरी गरे।
त्यसपछि ७६औँ मिनेटमा उनले अर्को आकर्षक गोल गर्दै ह्याट्रिक पूरा गरे र विश्वकप इतिहासका संयुक्त सर्वाधिक गोलकर्ता बने । चार मिनेटपछि मैदान छाड्दा दर्शकले उभिएर लामो समयसम्म ताली बजाउँदै उनलाई सम्मान गरेका थिए।
मेस्सीले सन् २०२२ को दोहा विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका थिए । त्यतिबेला फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरिएको थियो । नियमित समयमा ३–३ को रोमाञ्चक बराबरी भएको उक्त खेलमा फ्रान्सका स्टार किलियन एमबाप्पेले ह्याट्रिक गरेका थिए।
यसपटक पनि अर्जेन्टिना र फ्रान्स पुनः फाइनलमा भेटिन सक्ने सम्भावना रहेको चर्चा भइरहेका बेला फ्रान्सले पनि आफ्नो अभियान विजयी ढङ्गले सुरु गरेको छ । सेनेगलविरुद्ध ३–१ को जितमा एमबाप्पेले दुई गोल गर्दै आफ्नो प्रभाव कायम राखे।
फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले एमबाप्पेको प्रशंसा गर्दै आलोचनाका बीच पनि उनी असाधारण खेलाडी रहेको बताए । उनका अनुसार खेल सधैँ योजनाअनुसार नजाने भए पनि एमबाप्पेसँग कुनै पनि क्षण खेलको परिणाम बदल्ने क्षमता छ।
सेनेगलविरुद्धको दुई गोलसँगै एमबाप्पेले ९९ अन्तर्राष्ट्रिय खेलमा ५८ गोल पूरा गर्दै फ्रान्सका सर्वाधिक गोलकर्ताको सूचीमा ओलिभियर जिरुडलाई पछि पारे । डेसच्याम्प्सले मैत्रीपूर्ण खेलमा गोल गर्न नसके पनि विश्वकपमा रेकर्ड बनाउनु थप विशेष उपलब्धि भएको उल्लेख गरे।
यता अर्को स्टार स्ट्राइकर एर्लिङ हालान्डले पनि विश्वकप डेब्यूलाई स्मरणीय बनाएका छन् । समूह ‘ए’ अन्तर्गत इराकमाथि नर्वेको ४–१ को जितमा उनले दुई गोल गरे।
फक्सबरोमा भएको खेलमा हालान्डले २९औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाए । यद्यपि आयमेन हुसेनको हेडरमार्फत इराकले खेल बराबरी गरेको थियो। तर इराकी रक्षापङ्क्तिको गल्तीको फाइदा उठाउँदै हालान्डले पहिलो हाफ सकिनुअघि पुनः गोल गरे।
५१ खेलबाट ५७ अन्तर्राष्ट्रिय गोल गरिसकेका हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले सहज जित निकाल्यो । दोस्रो हाफमा लियो ओस्टिगार्डले अर्को गोल थपे भने इराकको आत्मघाती गोलले नर्वेको जित अझ फराकिलो बनायो । सन् १९९८ पछि पहिलोपटक विश्वकपमा फर्किएको नर्वेले यससँगै महत्त्वपूर्ण तीन अङ्क हात पार्यो।
नर्वेका प्रशिक्षक स्टेल सोल्बाक्केनले हालान्डले ठूलो मञ्चमा आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको बताए । खेलअघि नै उनलाई हालान्डबाट विशेष प्रदर्शनको अपेक्षा रहेको र त्यसले वास्तविक रूप लिएको उनको भनाइ थियो।
मङ्गलबारको अन्तिम खेलमा विश्वकपमा पहिलोपटक सहभागी भएको जोर्डनले समूह ‘जे’ अन्तर्गत क्यालिफोर्नियाको सान्ता क्लारामा अस्ट्रियाको सामना गर्नेछ। रासस


